काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।
आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
संसदीय दलको नेता चयन भएसँगै शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
भोलि १२ बजेर ३४ मिनेट जाँदा मुलुकको प्रधानमन्त्रीको रुपमा शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ।
यसअघि कुनै एक दलको बहुमत नआएको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गर्ने अवस्था यस पटक भने छैन ।
सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित दुई तिहाइ बहुमतको नजिक छ । सरकार गठनका लागि सदनको बहुमत अर्थात १३८ मात्र नै प्रर्याप्त हुन्छ।
यस्तो अवस्थामा संविधानत: राष्ट्रपतिले अब सरकार गठनका लागि कुनै आव्हान नगरी प्रतिनिधिसभामा बुहमत प्राप्त दल रास्वपाको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६ को १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरिने ब्यवस्था छ।
सोही ब्यवस्था अनुसार अब रास्वपाले बलेन्द्र शाह आफ्नो संसदीय दलको नेता चयन भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा गराएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दलको नेता शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
