मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बादलले सदनमा राखेको धारणा पार्टी नीतिविपरीत : विष्णु पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०८२
  • 186
    SHARES

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला पौडेलले सामाजिक सञ्जालमा बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताए।

 

उनले लेखेका छन्, “प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,” पौडेलले फेसबुकमा लेखेका छन् ।

बादलको उक्त अभिव्यक्तिका बारेमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा पनि गरेका छन् ।

“यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,” पौडेलले लेखेका छन् ।

यसैबीच एमाले उपमहासचिव योगेश भट्टराईले पनि पार्टीको वैचारिक धारणा स्पष्ट पार्दै जनताको बहुदलीय जनवाद (जबज) एमालेको मार्गदर्शक सिद्धान्त भएको बताएका छन् ।

उनले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र संवैधानिक बाटोबाट समाजवादको आधार तयार गर्ने एमालेको मूल नीति रहेको उल्लेख गरे ।

भट्टराईले एमाले विपक्षमा रहे पनि राज्यका संस्थाहरूप्रति सम्मान र विश्वास कायम रहने बताए। उनले नेपाली सेना, न्यायालय, संवैधानिक निकाय तथा कर्मचारीतन्त्रप्रति पार्टीको कुनै बैरभाव नरहेको स्पष्ट पारे।

यसअघि प्रतिनिधिसभाको बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को फागुन २१ गतेको चुनावी विजयलाई लिएर व्यंग्य गरेका थिए । उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था तथा भदौ २३–२४ को जेन–जी आन्दोलनका ‘खलपात्र’लाई समेत बधाई दिएका थिए ।

थापाले व्यंग्यात्मक रूपमा नेपाली सेना, सुरक्षा निकाय, ‘बारबरा फाउन्डेशन’, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका शक्तिले रास्वपाको पक्षमा माहोल बनाएको टिप्पणी गरेका थिए । उनले भदौ २३–२४ को आन्दोलनलाई रास्वपाको अघोषित नेतृत्वमा भएको दाबीसमेत गरे।

उनले ‘नीलो क्रान्ति’ को संस्थागत विजय भएको उल्लेख गर्दै चैत १३ मा बालेन्द्र शाह नेतृत्वको सरकारको सपथसँगै नयाँ राजनीतिक अध्याय सुरु भएको टिप्पणी गरेका थिए ।

थापाले भदौ २३–२४ का घटनाबारे प्रश्न उठाउँदै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र बालुवाटारमा भएको आगजनीको उद्देश्यबारे स्पष्ट पार्नुपर्ने बताएका थिए।

थापाको उक्त अभिव्यक्तिपछि एमालेभित्र औपचारिक बहस सुरु भएको छ भने पार्टी नेतृत्वले यसलाई गम्भीर रूपमा लिएको संकेत दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)