आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १६, २०८३
  • 81
    SHARES

काठमाडौँ –  सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारीबिच विपक्षी दलहरूको बैठक बोलाइएको छ ।

प्रमुख विपक्षी नेता तथा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेन्डामा छलफल हुने छ ।

मङ्गलवार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो । लगत्तै प्रमुख विपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिचाइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको चेतावनी दिए ।

दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याएपछि उनले सरकारलाई सोधेका छन्, ‘आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ?’

सरकारले दुई अध्यादेश ल्याएपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा शब्दमा विरोध जनाएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो । तर, सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)