काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताउनु भयो । उहाँले आजको भोलि नै परिणाम खोज्ने ‘लत’ ले गर्दा बारम्बार विकल्पको खोजी भइरहने उल्लेख गर्दै रास्वपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पार्नुभयो ।
पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उहाँले जगभन्दा संरचना (स्ट्रक्चर) ठूलो भएको स्वीकार गर्नुभयो । जनताको तिब्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘विकल्प खोज्नु मात्र समाधान होइन, आफैँमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो । रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ । जब कोही सही बाटोबाट विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ, तब मात्र विकल्पको खोजी हुन्छ । तर हामीले यस्तो काम गर्नुपर्छ कि जनताले हाम्रो अर्को विकल्प खोज्नु नपरोस् । जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन । युवाहरूको चाहना र परिवर्तनको आवश्यकताले गर्दा रास्वपा जगले धान्न सक्नेभन्दा ठूलो आकारको बनेको हो कि भन्ने मलाई महसुस हुन्छ । अब यसलाई सुरक्षित र सुदृढ बनाउन जहाँ–जहाँबाट आवश्यक पर्छ, त्यहाँ टेको दिएर अड्याउन हामी तयार हुनुपर्छ ।’
उहाँले पार्टीलाई जगैदेखि मजबुत बनाउँदै आगामी दिनमा जिम्मेवार ढंगले अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
