बुटवल – लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिने तीनै जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य हुन्। उनीहरूलाई प्रदेश सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ।
दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्रीहरूले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ।
