मङ्लबार, भदौ ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०८३
  • 39
    SHARES

काठमाडौं  –  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशन रोक्ने नभई महाधिवेशनलाई विश्वसनीय र लोकतान्त्रिक बनाउनुपर्ने बताएका छन्।

कांग्रेसभित्र नेतृत्व चयन र महाधिवेशनसम्बन्धी विवाद अदालतसम्म पुगेकोप्रति असन्तुष्टि जनाउँदै चालिसेले दलको नेता चयन गर्ने अधिकार पार्टीको महाधिवेशनलाई नै रहेको बताएका हुन्।

“दलको नेताको चयन दलको अधिवेशनले गर्दछ । चाहे विशेष होस् वा नियमित । दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत जाने शैलीले दललाई न्याय गर्दैन,” उनले भनेका छन्।

कांग्रेसभित्र देखिएको पछिल्लो असन्तुष्टि व्यक्तिगत विषयसँग बढी सम्बन्धित रहेको उनको भनाइ छ। पार्टीको राजनीतिक विचार र कार्यक्रमसँग सम्बन्धित फरक मत स्वाभाविक हुने भन्दै उनले लोकतान्त्रिक पार्टीले त्यस्ता मतलाई ग्रहण गर्नुपर्ने बताए।

पार्टीभित्र नेताहरूको व्यक्तिगत राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय भएको उल्लेख गर्दै चालिसेले पार्टीका शुभेच्छुक र कार्यकर्ताले व्यक्तिभन्दा पार्टीलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। जनताले पार्टीप्रति राखेको भरोसा र विश्वासलाई नेताहरूले थप मजबुत बनाउनुपर्ने उनको भनाइ छ।

कानुनी विवादको फैसला अदालतले गर्ने भए पनि लाखौँ कार्यकर्ताको मतबाट हुने निर्णय पनि उत्तिकै महत्वपूर्ण र शक्तिशाली हुने चालिसेले बताएका छन्। “कानुनी विवादको फैसला अदालतको इजलासले गर्ला, त्यो आफ्नो ठाउँमा छ। तर लाखौँ कार्यकर्ताको मतको इजलासले गर्ने फैसला अदालतभन्दा शक्तिशाली हुन्छ,” उनले भनेका छन्।

नेपाली कांग्रेस विधानबाट सञ्चालित लोकतान्त्रिक पार्टी भएकाले विधान समयसापेक्ष नभए संशोधन गर्नुपर्ने, तर भेलाको नाममा वा सहमतिको नाममा विधान तोड्न नहुने उनले बताएका छन्।

केन्द्रीय समिति विस्तार गर्नुपर्ने भए विधानले दिएको अधिकार प्रयोग गरेर सीमाभित्रै गर्नुपर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा समस्या भए सबै पक्षको सहभागिता र विश्वास हुने समिति गठन गर्नुपर्ने तथा निर्वाचनप्रति आशंका भए सबैलाई विश्वास हुने निर्वाचन समिति र पारदर्शी विधि तय गर्नुपर्ने उनको सुझाव छ।

महाधिवेशन निष्पक्ष बनाउन थप उपाय आवश्यक भए आपसी सहमतिमा विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ। पार्टीभित्र देखिएका असन्तुष्टि र विवादको समाधान विधानभित्रै सम्भव रहेको उनले बताएका छन्।

चालिसेले एउटा विवाद समाधान गर्ने नाममा गलत अभ्यास स्थापित भए भविष्यमा त्यही अभ्यास अर्को विवादको स्रोत बन्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेका छन्।

“अग्रज नेताहरूलाई आग्रह छ, हाल देखिएको समस्याको समाधान भनेको महाधिवेशन रोक्नु होइन, महाधिवेशनलाई विश्वसनीय बनाउनु हो,” उनले भनेका छन्।

नेतृत्वप्रति असहमति वा फरक विचार भए महाधिवेशनमा गएर आफ्ना धारणा राख्न, बहस गर्न र कार्यकर्ताको मत माग्न उनले आग्रह गरेका छन्। लोकतान्त्रिक प्रक्रियाबाट आएको निर्णयलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै गरेको र अदालतमा विचाराधीन पुनरावलोकन कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर कांग्रेसको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चालिसेले बताएका छन्।

महाधिवेशन एक दिन गर्नैपर्ने उल्लेख गर्दै उनले निर्वाचनपछि प्रतिनिधि गलत भएको, धाँधली भएको वा नक्कली प्रतिनिधिबाट मतदान भएको भन्दै पुनः अदालत जाने प्रवृत्तिले विवादको चक्र अन्तहीन बन्न सक्ने चेतावनी दिएका छन्।

“नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन सक्दैन। कांग्रेसलाई अदालतको विवादमा होइन, कार्यकर्ताको विश्वासमा उभ्याऔँ,” चालिसेले भनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)