काठमाडौं – बाढीका कारण प्रभावित बनेको रसुवा स्थित नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजना आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ टोली परिचालन भएको छ ।
जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको सरकारले जनाएको छ ।
चिनियाँ हेलिकप्टरमार्फत ६ जना विज्ञ टोली मैदानमा खटिएको हो। नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु भएको छ ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ।
