काठमाडौँ – सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालमा हालैको प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री तामाङले विपद्मा ज्यान गुमाउनेहरूका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको हो । संकटको यस घडीमा नेपाललाई राहत सामग्री उपलब्ध गराएर सहयोग गरेकोमा उहाँले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नुभयो । नेपालमा गएको विपद्ले जलविद्युत आयोजना, विद्यालय, पुल र सडक जस्ता महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले राहत सामग्रीमा जस्तै यी संरचनाहरूको पुनर्निर्माणमा पनि भारतको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री तामाङले भन्नुभयो, ‘कठिन समयमा प्राप्त यस किसिमको सहयोगले नेपाल र भारतबीचको गहिरो मित्रतालाई पुनः उजागर गरेको छ । म यसका लागि भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
विपद्का बेला प्राप्त यस्तो साथ र सहयोगले दुई राष्ट्रबीचको सम्बन्धलाई आगामी दिनमा अझ मजबुत र प्रगाढ बनाउने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल
