बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपद्को समयमा अहङ्कार र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई काँग्रेसको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०८३
  • 48
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सचेतक राईले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि तत्काल स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले बाढीका कारण घर तथा आफन्त गुमाएका नागरिकको पुनस्र्थापना कहिले र कहाँ हुन्छ भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने बताउनुभयो । पीडित नागरिकले आफ्नै घर कहिले पाउने र त्यस अवधिसम्म उनीहरूलाई कहाँ तथा कसरी राख्ने भन्ने विषयमा सरकारले स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।

सचेतक राईले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी तथा सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य सङ्कट र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै तत्काल एकीकृत स्वास्थ्य तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी तथा रोग नियन्त्रणका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बाढीका कारण परिवारका सदस्य, घर तथा सम्पत्ति गुमाएका नागरिकको पीडा आर्थिक क्षतिमा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले राज्यले संवेदनशीलताका साथ पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो ।

“रोशीको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महँगीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन, अब परिणाम खोजेको छ,” उहाँले भन्नुभयो ।

सचेतक राईले विपद् व्यवस्थापनमा सुरुदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या देखिएको पनि बताउनुभयो । उहाँले सरकारले प्रतिपक्षी दलहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न नखोजेको भन्दै त्यसतर्फ पनि प्रश्न उठाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)