काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने बताउनुभयो ।
उहाँले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो विषय नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताउनुभयो । सडकको दयनीय अवस्था तथा विभिन्न स्थानमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवा निरन्तर सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा हुने बिचौलियाको गतिविधि तथा जथाभावी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा अध्यक्ष सिटौलाले जोड दिनुभयो । नर्मल, डिलक्स र सुपर डिलक्सलगायत सवारी साधनको प्रकारअनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
चाडपर्वका समयमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापन गर्न मालवाहक सवारी साधनलाई निश्चित समय रोक्ने व्यवस्था गर्न तथा सडक मर्मतमा तीव्रता दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ । दशैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बाटोका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’
अध्यक्ष सिटौलाले चाडपर्वका लागि अग्रिम बुकिङ गरिएका सवारी साधनलाई अन्य प्रयोजनका लागि रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिनुभयो । लामो दूरीका सवारी साधनमा दुई जना चालक राख्ने व्यवस्थालाई समेत कडाइका साथ कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नागरिकको हितलाई ध्यानमा राख्दै सरकारले घाटा सहेर भए पनि मूल्य स्थिर राख्नुपर्ने अध्यक्ष सिटौलाको भनाइ थियो।
