बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव :पर्यटनमन्त्री भट्टराई


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०७७
  • 449
    SHARES

काठमाण्डौ,२६ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनु भएको छ ।

कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनुभएको हो।

बिहीबार  आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताउनुभयो ।

पहिलो चरणमा उच्च पहाडी र पहाडि जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताउनुभयो । यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई वेवास्ता गरि डलरको पछाडि दौडदा अहिले पर्यटन क्षेत्र उठनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई सुचारु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एयरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टाइन बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्ने बताउनुभयो । त्यसबाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनरउत्थान कोषबाट छिटोभन्दा छिटो चालु पूँजी उपलब्ध गराउन र दिर्भकालिन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताउनुभयो ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट ल्याएको पुनरउत्थान कोषको उपयोग अझै गर्न नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले व्यवसायीले पुनरकर्जाको लागि असोज १५ गते सम्म आवेदन दिने म्याद रहेको र त्यसपछि पनि कहिले प्राप्त हुन्छ भन्ने कुरामा अझैपनि स्पस्ट हुन नसकेको बताउनुभयो । त्यसबाहेक होटल कहिले खोल्ने, पर्यटकलाई कहिले देखि नेपाल ल्याउने भन्ने सम्बन्धमा सरकार अझैपनि स्पस्ट हुन नसकेको बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन् । तर कोभिड १९ संक्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ । त्यसैले सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित पर्यटन क्षेत्रलाई तत्काल सूचारु गर्नुपनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)