काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले १५ गते प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो ।
साउन १५ गते मङ्गलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिना विभागीयसहित १४ जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री नियुक्त हुँदा लामा कांग्रेस र नेकपा एमालेको गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन रहेको थियो । प्रतिपक्षमा दलहरु माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।
एक सय १० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, सभामुखसहित राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।
