काठमाडौँ – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास आज काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष श्री भुपाल पोखरेलले संयुक्त रुपमा गर्नुभयो ।
धुर्कोट गाउँपालिका–३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३करोड ८0 लाख रुपैयाँमा निर्माण हुँदैछ ।
नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो ।
नजिकको छिमेकी र विकास साझेदार भएको नाताले भारत र नेपालबीच विभिन्न क्षेत्रमा व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कार्यान्वयनले विकास र समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने काठमाडौँ स्थित भारतीय दूतावासले जनाएको छ ।
