रसुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई. मोहन आचार्यले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् । रसुवाको चुवावी कार्यक्रमलाई सम्वोधन गर्दै नेता आचार्यले अब कांग्रेस नयाँ रूपमा रुपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।
उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौं ।
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए।
उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।’
नेता आचार्यले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो कुर्वानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
उनले जेन-जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापुर्वक पार्टीले लिएको बताए ।
‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ’ उनले भने ।
