मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ : सभापति थापा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०८२
  • 132
    SHARES

धनुषा-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन् ।

जनकपुरधाममा आयोजित कांग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने र कम सङ्ख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा सङ्गठन सुदृढ बनाइने बताए ।

सभापति थापाले भने, “अब सङ्ख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ । पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ ।”

उनले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया शुरू गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धीकरण अभियान अघि बढाइने उल्लेख गरे । समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो ।

उनले भने, “पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ । कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ ।”

सभापति थापाले प्रतिनिधि सभा निर्वाचनको परिणामबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था कांग्रेसको इतिहासमै चुनौतीपूर्ण रहेको र यसबाट सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले १५औँ महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताए ।

सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

कार्यक्रममा उपसभापति पुष्पा भुषाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डा डिला सङ्ग्रौला, मुक्ता यादवलगायत प्रदेशका आठै जिल्लाका प्रतिनिधि नेता तथा कार्यकर्ताको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)