काठमाडौँ – नेपाली काँग्रेसले सङ्घीय संसद्को संयुक्त बैठकमा सम्माननीय राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति गम्भीर असहमति जनाएको छ।
काँग्रेसका प्रवक्ता देवराज चालिसेले सोमबार वक्तव्य जारी गर्दै उक्त घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा तथा संस्थागत गरिमामाथि प्रश्न उठाएको बताएका हुन्।
वक्तव्यमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय र संवेदनशील कार्यक्रमका रूपमा उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री अन्त्यसम्म उपस्थित नरहनु र अस्वाभाविक व्यवहार देखिनुले अप्रिय सन्देश गएको टिप्पणी गरिएको छ।
काँग्रेसले कार्यक्रममा प्रधानमन्त्रीको पोसाकलाई लिएर सांसदभित्र उठेको टिप्पणीप्रति पनि सङ्केत गर्दै राष्ट्रिय पोसाक कानुनी रूपमा अनिवार्य नभए पनि यस्ता संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको जनाएको छ।
काङ्ग्रेसद्वारा जारी वक्तव्यमा भनेको छ, लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका विभिन्न अङ्गबिचको पारस्परिक सम्मान, संसदीय संस्कार तथा संवैधानिक मर्यादाप्रतिको प्रतिबद्धता साझा राष्ट्रिय मूल्य हुनुपर्ने उल्लेख गरिएको छ।
काँग्रेसले संसद् केवल सरकार निर्माणको गणितीय हैसियत बोकेको संस्था मात्र नभई लोकतान्त्रिक संस्कार, संस्थागत अनुशासन र राष्ट्रिय सभ्यता प्रदर्शन गर्ने सर्वोच्च मञ्च भएको उल्लेख गर्दै त्यहाँ हुने हरेक व्यवहारले वर्तमान राजनीतिक परिवेश मात्र होइन, आगामी पुस्ताको लोकतान्त्रिक संस्कृतिलाई समेत प्रभावित पार्ने जनाएको छ।
“संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिकोणबाट आज प्रदर्शित व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न सकिँदैन,” वक्तव्यमा भनिएको छ, “यस्ता अमर्यादित तथा अशोभनीय व्यवहारप्रति हाम्रो गम्भीर असहमति रहेको छ।
