रसुवामा निर्माणाधीन साढे ४२ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङ शनिबार ९चैत ८ गते ० छेडिने भएको छ । आयोजनाको ३ हजार ६ सय ७३ मिटर लामो मुख्य सुरुङ पूरा हुन लागेको हो ।
मुख्य सुरुङ पूरा हुन अब ३ मिटर बाँकी रहेको सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार खोलाको पानी भित्र नपस्ने गरी व्यवस्थापन गरेर शनिबार सुरुङ पूरा गर्ने तयारी भइरहेको छ ।
‘सुरुङ खन्ने कार्य पूरा हुने चरणमा पुगेको छ,’उनले भने,‘खनेर सकिएपछि ढलान गर्न ८ महिनाको समय लाग्छ ।’
उनले आयोजनाको ७७ प्रतिशत निर्माण पूरा भएको बताए । बाँध क्षेत्रका संरचना निर्माणको काम सकिएको छ । बाँध क्षेत्रमा करिब ३० मिटर साइफन फाइप हाल्ने काम मात्र बाँकी रहेको पनि उनले बताए । कोरोना असरले आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनीका चिनियाँ प्राविधिक तथा कामदार चीनमै रोकिँदा उपकरण जडानको काम प्रभावित भएको छ ।
‘नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक र कामदार उतै रोकिएका छन् । कहिले आइपुग्ने हुन् टुङ्गो छैन । विद्युतगृहमा उपकरण जडानमा ढिलाई हुँदा विद्युत उत्पादन तालिका पनि प्रभावित हुने सम्भावना बढेको छ’ उनले भने ।
आयोजनाबाट २०७७ कात्तिकदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । २ महिनादेखि विद्युतगृहको काम प्रभावित हुँदा उत्पादन तालिका पनि पछि सर्ने देखिएको छ । कोरोना असरले कम्पनीले निर्माण गरिरहेको १४।८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको उपकरण जडानको काम पनि प्रभावित भएको छ । चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाई भएको हो ।
आयोजनाबाट चालु वर्षभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोड्ने तालिका छ । तर, कोरोना असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना बढेको कम्पनीले जनाएको छ । कम्पनी अन्तर्गत निर्माणाधीन दुवै आयोजनाले उत्पादन गर्ने विद्युत चिलिमे हब सबस्टेसनमा जोडिनेछ ।