बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोशी बाढी उद्धारमा ढिलाइदेखि ग्यास अभावसम्म, राष्ट्रिय सभामा सरकारको आलोचना


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०८३
  • 48
    SHARES

काठमाडौँ –  भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा ढिलाइ भएकोदेखि बजारमा देखिएको ग्यास अभावसम्मका विषयमा राष्ट्रिय सभाका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

 

बुधवार बसेको राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरूले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, सुरुङमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी, प्रभावित क्षेत्रमा राहत वितरण, सडक अवरोध, हवाई भाडा वृद्धि, ग्यास अभावलगायतका विषय उठाएका हुन् । सांसद कृष्णबहादुर रोकायाले भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विपद्बाट प्रभावित गर्भवती, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहमा ठूलो संख्यामा गर्भवती महिला रहेकाले आकस्मिक प्रसूति सेवासहित स्वास्थ्य सेवा तत्काल विस्तार गर्नुपर्ने बताउनु भयो ।
सांसद घनश्याम रिजालले विपद्को शुरुवाती चरणमा देखिएको सरकारी तत्परतापछि पछिल्ला दिनमा उद्धार, राहत र पुनःस्थापनामा प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताउनु भयो । विशेषगरी सुरुङभित्र फसेका तथा हराइरहेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उनले जलवायु परिवर्तनका कारण दोलखाको च्छोरोल्पालगायत हिमताल फुट्ने जोखिम बढेको भन्दै सम्भावित विपद् रोकथामका लागि तत्काल प्राविधिक अध्ययन र पूर्वसूचना प्रणाली स्थापना गर्नसमेत माग गर्नुभयो ।

सांसद पदमबहादुर परियारले कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको भन्दै तत्काल दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभयो । उहाँले कृष्णभीरमा देखिएका चिरालाई सामान्य रूपमा नलिई विज्ञ टोलीबाट अध्ययन गराउन, पुल, वैकल्पिक सडक तथा पाइलिङलगायतका दीर्घकालीन उपाय अघि बढाउन आग्रह गर्नुभयो । परियारले विपद्को समयमा हवाई भाडा वृद्धि भएको भन्दै पर्यटन मन्त्रालयको समेत ध्यानाकर्षण गराउनु भयो ।

सांसद पूजा चौधरीले विपद्का कारण परिवार, आफन्त, घरबार र सम्पती गुमाएका रसुवाका नागरिकमाथि सामाजिक सञ्जालमा गालीगलौज तथा अपमानजनक टिप्पणी भइरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले विपद्पीडितलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा घृणा तथा अपमानजनक गतिविधि गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको भन्दै तत्काल आपूर्ति सहज बनाउन माग गर्नुभयो । कृष्णभीरको सडक अवरोधपछि वैकल्पिक मार्गबाट ग्यास काठमाडौं भित्रिए पनि सहज वितरण हुन नसकेको भन्दै उनले आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाउनु भयो । उहाँले तत्काल ग्यासको आपूर्ति बढाउन, वितरण प्रणाली पारदर्शी बनाउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले अघिल्लो वर्ष भएको हिंसात्मक घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेका प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले दुवै प्रतिवेदन लुकाइएको आरोप लगाउँदै पुनः अर्को समिति गठन गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास नगर्न सरकारलाई आग्रह गर्नुभयो । दोषीमाथि कडा कारबाही गर्नुपर्ने उहाँको माग छ ।
सांसद कृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीपछि उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन नसकिएको बताउनु भयो । उहाँले आधुनिक उद्धार सामग्री, उपकरण र प्रविधिसहित विशेषज्ञ टोली शुरुदेखि नै प्रभावकारी रूपमा परिचालन गर्न सके सुरुङमा फसेका धेरैलाई जीवित उद्धार गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।

उहाँले त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे हाइड्रो तथा रसुवागढी हाइड्रोका सुरुङमा रहेका कर्मचारी, कामदार तथा मजदुर अझै जीवित रहेको आशामा परिवार पर्खिरहेको उल्लेख गर्दै खोज तथा उद्धारलाई तिब्र बनाउन माग गर्नुभयो ।

पुरिएका घर, भग्नावशेष तथा सार्वजनिक संरचनामा खोजी र उत्खनन तिब्र बनाउन तथा शव व्यवस्थापन र राहत वितरणमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरूले भोटेकोशी बाढीपछिको उद्धार, राहत, स्वास्थ्य सेवा र पुनःस्थापनालाई तत्काल प्रभावकारी बनाउन तथा विपद् प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्रबीच समन्वय बढाउन सरकारसँग माग गरेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)