काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्। थप उपचारपछि बिहीबार मात्रै काठमाडौं फर्किएका देउवा शुक्रबार काठमाडौंमा आयोजित भेलामा सहभागी भएका हुन्।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए।
हङकङबाट बिहीबार काठमाडौं फर्किएका देउवा त्यसको भोलिपल्टै कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलामा पुगेका हुन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. कोइराला समूहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ।
काठमाडौंको धुम्बाराही स्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशन र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।
