काठमाडाैँ – जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा उल्लेख्य बदलाव आउने सम्भावना रहेको छ ।
देशभर साधारणतया बदली रहने भन्दै विभागले विभिन्न स्थानमा वर्षा र हिमपातको पूर्वानुमान गरेको छ ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने देखिन्छ ।
लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ ।
देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने रातिको समयमा भारी वर्षा हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
