काठमाडौं – नेपाली काँग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई पार्टीको वर्तमान केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ।
आइतबार बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको पूर्वसमितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय समितिमा नसमेटिएका नेताहरूलाई केन्द्रीय सदस्यका रूपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको हो।
सहभागी हुनेलाई केन्द्रीय सदस्यको जिम्मेवारी
बैठकपछि एक पदाधिकारीले पूर्वसमितिका सदस्यलाई वर्तमान केन्द्रीय समितिमा रहेर आगामी महाधिवेशनको तयारीमा सहभागी हुने बाटो खुला गरिएको जानकारी दिएका छन्।
‘सबैलाई केन्द्रीय समितिमा बस्ने गरी आह्वान हुन्छ। केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रूपमा रहनुहुन्छ,’ ती पदाधिकारीले भनेका छन्, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौँ। केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ, नचाहनेहरू आउनुहुन्न होला।’
बैठकको निर्णयअनुसार पूर्वसमितिमा रहेका व्यक्तिलाई वर्तमान केन्द्रीय समितिमा आउन आह्वान गरिनेछ। यद्यपि, समितिमा सहभागी हुने वा नहुने निर्णय सम्बन्धित व्यक्तिमै निर्भर रहनेछ।
महाधिवेशन आयोजक समितिका रूपमा रहने
केन्द्रीय समितिमा सहभागी हुने पूर्वसमितिका सदस्यहरू १५औँ महाधिवेशन सम्पन्न गर्ने आयोजक समितिको भूमिकामा रहने काँग्रेसले जनाएको छ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको आन्तरिक असमझदारी कम गर्दै आगामी महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने प्रयास स्वरूप उक्त निर्णय गरिएको हो।
असोज १६ देखि १९ सम्म महाधिवेशन
काँग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने मिति निर्धारण गरेको छ। महाधिवेशन काठमाडौँमा गर्ने गरी पार्टीले कार्यतालिका पारित गरेको छ।
यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन गर्ने मिति तोकिएको छ। केन्द्रीय समितिमा सहभागी हुने पूर्वसमितिका सदस्यले महाधिवेशनको तयारी तथा व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्नेछन्।
पुससम्म नवीकरण भएका सदस्यलाई मान्यता
कार्यसम्पादन समितिको बैठकले गत पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णयसमेत गरेको छ।
उक्त निर्णयसँगै निर्धारित अवधिभित्र सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले पार्टीको आगामी अधिवेशन तथा महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने भएका छन्।
