काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले तातोपानी नाका खुलाउन सरकारले प्रभावकारी कुटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् भने नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहेको भइरहेको पनि सरकार त्यसतर्फ गम्भीर हुन नसकेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘रसुवाको केरुङ नाका भोटेकोशी बाढीले बगाएपछि हामीसँग सहज यातायात सुचारु गर्न सकिने र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ । दुई हप्ताभन्दा लामो समय भइसक्यो, सरकारबाट कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने कुनै प्रयत्न प्रभावकारी भएको छैन । दशैँको मुखमा हामी छौँ । भोटेकोशी नदीले एकातिर सामान बगाएको छ, व्यवसायीको ठूलो क्षति भएको छ र बजारमा सामान अभाव हुने समस्या आएको छ भने अर्कोतर्फ चाडपर्वको मुखमा सामान आयात नहुँदाखेरि नागरिकहरुलाई भोलि सास्ती पर्ने देखिन्छ । एकातिर महङ्गी आकासिएको छ, हुन त यो सरकारलाई महङ्गी आकासिँदा गरिब जनतालाई गाह्रो हुन्छ व्यवहार चलाउन भन्ने कुरा अनुभूति दिलाउन हामीले सकेका छैनौँ । खसीको मासुमा ४ सय बढ्यो, जाबो ४ सय बढेको त हो नि । चामलमा ४ सय बढ्यो, जाबो ४ सय हो नि, किन्न नसक्ने ? यो सरकारलाई महङ्गीको मार एउटा गरिबको चुलोमा कसरी पर्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ र जताततै यो महङ्गी जुन आकासिएको छ यो अवस्थामा तातोपानी नाका अविलम्ब कूटनीतिक पहल गरेर सुचारु गर्नको लागि म नेपाल सरकारसँग जोडदार माग गर्दछु । त्यसैगरी कोरला नाकामा चिनियाँ पक्षले नेपाली मुस्ताङ मुस्ताङबाहेकका अन्य चालकहरुलाई प्रवेश अनुमति नदिएको कारणले र ठूला सवारीहरु चलाउने पर्याप्त चालक जनशक्ति त्यहाँ नभएको कारणले आज व्यवसायीले ठूलो समस्या भोग्नुपरेको र तत्काल कूटनीतिक पहल गरी त्यहाँका चालकहरुलाई प्रस्थान जहाँसम्म जान मिल्ने त्यहाँ जाने व्यवस्थाको लागि व्यावसायिक क्षेत्रबाट माग भएको छ, म सरकारलाई यसतर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
उहाँले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताउनु भयो । चिनियाँ पक्षले मुस्ताङबाहेकका जिल्लाका चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
