सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताउनुभएको छ ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो । सिंहले मधेस र कोसी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ ।’
छठपछि मेची–महाकाली पदयात्रा गर्ने घोषणा
सिंहले छठ पर्वको पारणका दिन जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गर्ने र त्यसपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा शुरु गर्ने घोषणा गर्नुभयो । उहाँकाअनुसार उक्त यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ । पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु र उनीहरूका समस्या सुन्नु रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीति भनेको समाज जोड्नका लागि हो । जात, धर्म, वर्ग र भूगोलका नाममा लडेर हामी कहीँ पनि पुग्न सक्दैनौँ ।’
सिंहले पदयात्राका क्रममा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताउनु भयो । गाउँ–गाउँ र टोल–टोल पुगेर लामो समय पैदल हिँड्ने तथा स्थानीयसँग प्रत्यक्ष छलफल गर्ने उहाँको भनाइ छ । उनले मञ्च बनाएर भाषण गर्नेभन्दा २०० देखि ४०० जनाको समूहमा स्थानीयका समस्या सुन्ने योजना रहेको बताउनु भयो ।
युवादेखि किसान र व्यापारीसम्मका समस्या सुन्ने
पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे जनतासँग छलफल गर्ने सिंहले बताउनु भयो । सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या पनि यात्राका क्रममा उठाउने उहाँको भनाइ छ । सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षाकर्मीबाट सीमावर्ती नागरिकले भोग्नुपरेका समस्याबारे समेत प्रत्यक्ष जानकारी लिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सीमावारिपारिको व्यापार तथा सामाजिक र पारिवारिक सम्बन्धमा कस्तो असर परेको छ भन्ने कुरा पनि सुन्नुपर्छ ।’
मधेसका लागि ‘६ स’को अवधारणा
सिंहले मधेसको विकासका लागि आफूले ‘६ स’लाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँकाअनुसार ती हुन्–शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति’सुरक्षा र सरसफाइ ।
मधेसमा सरसफाइको अवस्था सुधार गर्नुपर्ने भन्दै उनले सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने, सडकमा दाउरा तथा गोबर राख्ने र घरअगाडि नै पशु बाँध्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताउनु भयो ।
शिक्षा क्षेत्रमा मधेस पछाडि परेको दाबी गर्दै उहाँले विद्यालयको गुणस्तर सुधारमा पर्याप्त ध्यान दिनुपर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रमा पनि मधेसमा सरकारी रेफरल अस्पताल, मेडिकल कलेज तथा विशेषज्ञ स्वास्थ्य सेवाको अभाव रहेको उहाँको भनाइ छ ।
सरकारी मेडिकल तथा प्राविधिक कलेजको माग
मधेस प्रदेशमा ठुलो जनसङ्ख्या भए पनि सरकारी मेडिकल कलेज, इन्जिनियरिङ कलेज तथा कृषि कलेज पर्याप्त रूपमा स्थापना हुन नसकेको सिंहले बताउनु भयो । उहाँले मुटु, मिर्गौला तथा क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि सरकारी स्तरमा सुपर स्पेसियलिटी सेवा आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य सेवाका लागि मधेसका नागरिकले काठमाडौँ वा अन्य ठुला शहरमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
धार्मिक तथा जातीय द्वन्द्वप्रति चिन्ता
सिंहले पछिल्ला वर्षहरूमा मधेसमा धार्मिक तथा साम्प्रदायिक तनाव, जातीय विभाजन र आपराधिक गतिविधि बढेको दाबी गर्नुभयो । उहाँले अदालत, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयमा रहेका मुद्दा र भीडको तथ्याङ्क अध्ययन गर्नसमेत आग्रह गर्नुभयो ।
मधेसमा लागु औषधको समस्या पनि गम्भीर रहेको भन्दै उहाँले राजनीतिक प्रयाससँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी जहाँ छौँ, हाम्रो एउटै पहिचान छ, हाम्रो एउटै समाज छ ।’
विभाजन गरेर शासन गर्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
हुलाकी राजमार्ग र सिँचाइका मुद्दा
सिंहले मधेसको विकासमा सडक र सिँचाइ पूर्वाधारलाई पनि प्राथमिकता दिनुपर्ने बताउनु भयो । हुलाकी राजमार्ग अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको तथा कमला र बागमतीलगायतका पुल तथा पूर्वाधार निर्माणमा समस्या रहेको उहाँको आरोप छ ।
मधेसका खेतमा पर्याप्त सिँचाइ सुविधा पु¥याउन नसकिएको प्रश्न उठाउँदै उहाँले कोशीको पानी सप्तरी–सिराहासम्म र गण्डकको पानी बारा, पर्सा तथा रौतहटसम्म प्रभावकारी रूपमा पु¥याउन नसक्नुको कारण खोजिनुपर्ने बताउनु भयो ।
धनुषालगायतका जिल्लाका कतिपय क्षेत्रमा सिँचाइ अभावका कारण ठुलो भूभाग उत्पादनविहीन बन्ने गरेको उहाँको दाबी छ ।
‘पोखरी सौन्दर्यीकरणभन्दा विद्यालय र अस्पताल प्राथमिकतामा’
सिंहले मधेस प्रदेशमा विकास बजेटको प्राथमिकतामाथि समेत प्रश्न उठाउनु भयो । पोखरी सौन्दर्यीकरणमा ठुलो रकम खर्च गर्ने तर विद्यालय र अस्पतालको भौतिक अवस्था सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्तिको उहाँले आलोचना गर्नुभयो ।
उहाँले कतिपय पोखरीमा अत्यधिक कङ्क्रिट प्रयोग गर्दा पानीको प्राकृतिक पुनर् भरण प्रभावित हुन सक्ने बताउनु भयो । स्थानीय आवश्यकता र वातावरणीय अवस्थाको अध्ययन नगरी गरिने विकास निर्माणले दीर्घकालमा समस्या निम्त्याउन सक्ने उहाँको भनाइ छ ।
उहाँले गाउँका सडक निर्माणमा समेत पानीको प्राकृतिक पुनर् भरणलाई ध्यान दिनुपर्ने बताउनु भयो । ‘विकास भनेको कङ्क्रिट मात्रै होइन’ भन्ने आशय व्यक्त गर्दै उनले स्थानीय आवश्यकता र दीर्घकालीन प्रभावलाई ध्यान दिएर योजना बनाउनुपर्ने बताउनु भयो ।
मधेस आन्दोलनको उद्देश्य आर्थिक समृद्धि र सहभागिता भएको दाबी
सिंहले मधेस आन्दोलन केवल संविधानमा केही विषय लेखाउन वा राजनीतिक नेतृत्व निर्माण गर्नका लागि नभएको बताउनु भयो । उहाँकाअनुसार आन्दोलनको मूल उद्देश्य मधेसको आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु थियो ।
मधेसको वर्तमान अवस्थाका लागि काठमाडौँलाई मात्र दोष दिएर नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताउनु भयो ।
उहाँले प्रश्न गर्नुभयो, ‘हामी मधेसी नेताहरूले पनि सोच्नुपर्छ, हामीले के गल्ती ग¥यौँ ?’
उहाँले मधेसका नेताहरूले गरेका कामलाई आफूले सम्मान गर्ने तर विगतका कमीकमजोरी पहिचान गरेर सुधार गर्नुपर्ने बताउनु भयो ।
‘कमिसनको आरोपले मधेस बदनाम हुनु हुँदैन’
सिंहले विकास योजनामा कमिसनको आरोप लाग्ने गरेको विषयसमेत उठाउनु भयो । योजनामा अनियमितता र कमिसनको संस्कारले मधेसको छवि प्रभावित भएको उहाँको भनाइ छ ।
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले विकास योजनाको छनोट पारदर्शी र आवश्यकतामा आधारित हुनुपर्ने बताउनु भयो ।
‘मधेस मेरो लागि झापादेखि कञ्चनपुरसम्म’
सिंहले मधेसलाई केवल मधेस प्रदेशका आठ जिल्लामा सीमित गरेर हेर्न नहुने बताउनु भयो । उहाँले आफूले मधेसलाई झापादेखि कञ्चनपुरसम्मको भूगोलका रूपमा बुझ्ने बताउनु भयो ।
जात, धर्म, भूगोल वा पार्टीका नाममा मधेसमा द्वन्द्व निम्त्याउन नहुने भन्दै उनले त्यस विरुद्ध आफूले आवाज उठाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म कुनै पनि तरिकाको मधेसमा द्वन्द्व चाहन्नँ । मधेसलाई आउने दिनमा ब्याटल ग्राउन्ड बनाउन दिइँदैन ।’
रास्वपाको राजनीतिक आधार मधेस भएको दाबी
सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आधारमा मधेसको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्दै मधेसले पार्टीलाई दिएको समर्थनअनुसार विकास र राजनीतिक सहभागितामा पनि प्राथमिकता पाउनुपर्ने बताउनु भयो ।
उहाँले मधेसबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने र मधेसको विकासमा त्यसअनुसार ध्यान दिनुपर्ने बताउनु भयो । साथै पार्टीले पहाडी क्षेत्रमा अपेक्षित रूपमा विस्तार गर्न नसकेको विषयमा पनि आत्म समीक्षा आवश्यक रहेको बताउनु भयो । उहाँले मधेसबाट प्राप्त समर्थनलाई राजनीतिक सहभागिता र विकासका अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सिंहले अन्ततः आफ्नो राजनीतिक अभियानलाई समाज जोड्ने, जनताको कुरा सुन्ने र मधेसको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने प्रयासका रूपमा प्रस्तुत गर्नुभयो । आगामी पदयात्राका क्रममा आफूले जनताबाट सुझाव र समस्या सङ्कलन गर्ने र त्यसलाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
