९ पुस , काठमाडौं । काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरिरहेका हल व्यवसायीहरुले चलचित्र प्रदर्शनका लागि आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट आफूखुसी हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । चलचित्र संघका अनुसार पुस १० गते ‘आमा’ र ‘सेन्टी भाइरस’ दुई चलचित्र चलाउने भएका छन्।
यी दुबै चलचित्र हलमा प्रदर्शन भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछी चलाचित्र प्रदर्शन बिचैमा रोकिएको थियो । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको चलचित्र संघले जानकारी दिएको छ ।
रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।
त्यस्तै दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा मिथिला शर्मा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ
