काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणसँग जुझ्न चीनको तिब्बत सरकारले उपलब्ध गराएका दुईआटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री बुधवार प्राप्त भएको छ।
ती स्वास्थ्य सामग्री झन्डै ५१ लाख चिनियाँ युआन अर्थात साढे आठ करोड नेपाली रुपियाँको रहेको बताइएको छ।
हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल आइपुगेका हुन्। बुधवार नै भन्सार प्रक्रिया गरी ती सामग्री काठमाडौं ल्याइने भएको छ ।
सहयोगमा आएको सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने एन९५ मास्क र पीपीई १० हजार थान रहेका स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रमेश पोखरेलले जानकारी दिए । उनले कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २० हजार थान रहेको बताए।
परीक्षणका लागि नाक र घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएमको अभाव हुन लागेको विवरण आएका थिए।
सरकारी अधिकारीहरूले ५०० देखि १ हजारको सङ्ख्यामा मात्रै भीटीएम बाँकी रहेको बताएका थिए।
त्यसबाहेक १ हजार ओटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उनले जानकारी दिए।
बुधवार बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराएको थियो।
चीनबाट थप सामग्री ल्याउने प्रयास
प्रादेशिक तहमा पनि यी सामग्रीहरू पठाउनुपर्ने आवश्यकता रहेको र यसबारे अध्ययन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि अघिल्लो हप्ता सरकारले चीनको अलीबाबा फाउन्डेशनबाट सहयोग प्राप्त गरेको थियो।
