१३ माघ, काठमाडौं। अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गर्नुभएको छ ।
फ्लोरिडाको पाल्म बिचमा सोमबार ट्रम्पले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
‘पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,’ उनका सहयोगीहरुले भनेका छन् ।
सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उनका सहयोगीहरुले जनाएका छन् ।
नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति कार्यालयले अपनाउने अनुमान गरिएको छ ।
