तमसुक कथा संग्रह पढेपछि
कथा संग्रह “तमसुक“ पढेपछि यसमा प्रस्तुत कथाका पात्रहरुले निभाएका भूमिकाहरु पढ्दा मलाई केही लेख्न प्रेरित ग¥यो । जस्तै यस पुस्तकमा समेटिएका कथाहरु मध्य मलाई सबै भन्दा रोचक लागेको पुस्तकको नाम बाट आएको नाम “ तमसुक “ नै हो ।
यसमा हाम्रो गरीब नेपाली जनताले बाँच्दै आएको कारुणिक जनजीवन जस्ताको तस्तै पस्किन सफल लेखकले सामन्ती सहुकारहरुले कसरी गरीब दुखीलाई शोषण गरेर आफ्नो ढुकुटी भर्न सफल भएका छन् भन्ने कुरा छर्लङ्ग भएको छ ।
कथाको अन्तमा शोषित बर्गका छोरा पुन्टे र भुन्टे बर्षौं पछि अचानक घर आइपुग्दा पाठकहरुकोसोंच भन्दा बिपरित भूमिकामा प्रस्तुत भएको जस्तो लाग्यो ।
किनकि त्यस्तो परिस्थितिमा युवाहरु प्रतिशोधकोआगोमा जल्दै माओवादीको शरणमा पुगेर साहुसंग बदला लिन सक्ने प्रवल सम्भावना हुन्छ । तर यहाँ लेखकलेआफ्नो कथाका पात्रहरु हिंसक बनाउन उचित ठान्नु भएन सायद; त्यसैले युवा पात्रहरुले साहुको अनैतिक ऋृण समेत तिरेर आफ्ना आमा बाबुलाई ऋणबाट बन्धन मुक्त गर्ने सभ्य र इमानदार नागरिकको रुपमा प्रस्तुत भएको देखियो। तमसुक पुस्तकका लेखकले अहिंसा बादी, सरल, सभ्य र आदर्श समाजको कल्पना गर्नु हुन्छ भन्ने स्पष्ट छ ।
त्यसै गरि अर्को कथा “बाई बाई अस्मिता“ यो कथामा, उमेरको एउटा उचाइमा पुगिसके पछि युवा र युवतीहरु एक अर्का प्रति आकर्षक हुनु नौलो कुरा हैन र त्यही आकर्षणले प्रेमको रुप धारण गरेपछि फेरि मिलनको प्यास जाग्नु पनि स्वभाविकै हो ।
यो कथाका पात्र बिनय र अस्मिता प्रेम मिलनका लागि व्याकुल बनेका बेला बल्ल तल्ल भएको मिलनमा एक अर्कामा समाहित हुन आतुर हुँदाहुँदै पनि प्रेम सुख प्राप्तीको अन्तिम सिमा सम्म पुगिसकेर पछि पनि हाम्रो हिन्दु समाजको संस्कार र लोक लाजलाई मनन गरेर आफ्ना आफ्ना बहकिएको मनलाई रोक्न सफल भएको पढ्न पाउँदा कथाकारको समाज प्रतिको सोंच र दायित्व बोधबाट प्रेरित भएर सभ्य र अनुशासित समाज निर्माणका लागि यो चेतना मुलक कथा पस्किन सफल हुनुभएको छ ।
त्यसै गरि अर्को कथा “फेसबुके प्रेम“ बाइ बाइ अस्मिता को बिपरित गएको यो कथाका पात्रहरु मेनका र किरणले प्रेमलाई मन बहलाउने खेल सम्झेर खेल्नाले मेनकाको जिन्दगी नरक बन्न पुग्यो। उता अवसर बादी किरणले समयमै आफ्नो परिवार च्यापेर मेनकालाई आफ्नो जिन्दगी बाट अलग गरेर पुरुष हुनुको दम्भ देखायो ।
अर्को मेरो मन छुन सफल कथा “खाडी बसाइको मूल्य“ यो कथाले हाम्रो गाउँ समाजको दुरुस्तै चित्रण गरेको छ जस्तै – बारीमा मकै, बलेसीबाट झरेको पानी र ट्वार ट्वार हुक्का तान्दै रेडियोमा समाचार ! पुस्तक पढ्दा आफू त्यहीँ पुगेजस्तै लाग्यो । माओवादी जनयुद्धले देशभर फैलिएको आतंकमा पिल्सिएका युवाहरु दुई ढुंगाको तरुल बन्नुपरेको पीडा उस्तै छ ।
एकातिर प्रहरीले माओवादी भनेर पक्राउ गर्ने अर्को तिर माओवादीले अपहरण गरेर आफ्नो सेना बनाउने; कहाँ जानू भागेर ? त्यसै पनि देशमा रोजगार नपाएर धेरै युवाहरू खाडी मुलुकको तातो हावापानीमा पाकिरहेकै थिए । माओवादीको कारणले झन् धेरै युवाहरुल त्यो द्वन्द बाट बच्न र परिवारको भोक टार्नका लागि त्यही खाडीको तातो बालुवामा पसिना बगाउन जानू बाध्यता हुन गएको कुरा लेखकले छर्लङ्ग पार्नु भएको छ ।
परिवारबाट टाढा बस्ने रहर कसैलाई हुदैन । कथाका पात्र राजेश र राजनले नव बिवाहित पत्नीलाई परिवारको साथमा छाडेर गएको भए उनीहरुको रगत पसिना को आर्जनका साथमा श्रीमती समेत गुमाउनु पर्ने थिएन । पत्नीको नाजायज इच्छा पुर्ती गर्ने मुर्खताले गर्दा दुबै साथीको जिन्दगी बर्बाद भयो भन्ने संदेश मार्मिक तरिकाले बर्णन गर्न सफल हुनुभएको छ लेखक ।
त्यसै गरि अर्को कथा“ दुर्घटित सपना“ यो कथाले अमेरिका मोह र यहाँ पढ्न आउने नेपाली युवा युवतीको कष्टकर जीवन एकातिर छ भने अर्कोतिर अमेरिका गएका छोरा छोरीमाथि आमा बाबुको आशा र भरोसाको मीठो सपना जस्ताको त्यस्तै पोखिएको छ । यस कथाका पात्र सुरज र निरज जस्तै घर खेत धितो राखेर उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुग्ने धेरै युवाहरूलाई सचेत गर्न सुरज र निरजको लापरबाहीले गर्दा उनीहरु लगायत परिवारको समेत कस्तो दुर्दशा हुनगयो भन्ने बलियो संदेश बोकेको छ ।
मेरो मन छुन सफल अर्को कथा हो “तथाकथित– बुद्धिजीवीको सोच“ यो कथाले गहन बिषयलाई अंगालेको छ । नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदका कारणले गर्दा कतिले प्राणको आहुती दिएकाछन् भन्ने उधारण दिरहनु नपर्ला, र कथाका पात्र प्रतीकले आफ्नो लगन, परिश्रम र विवेकले आफुलाई त्यो उचाइमा उभ्याउन सफल भए पनि तथाकथितहरुले उनको त्यो सफलतालाई नजरअन्दाज गर्दै पटक पटक उनलाई जातीय विभेदका बेबहार मात्र हैन शब्दले समेत प्रताडित गरिएको पाइयो ।
शिक्षित, शालीन र कर्तव्य निष्ठ ब्यक्तित्वका धनि प्रतीक जस्तो ब्यक्तिलाई यसरी भन्नसक्ने समाजका यस्ता बुद्धिजीवी जो साहित्यमा समेत आबद्ध हुनुहुन्छ उहाँहरु को मानसिकता जब यस्तो हुन्छ भने समाजमा जातीय भेदभाव कसरी अन्त हुनसक्ला ? समाज बाट रुढीबादी परम्परा हरु को बिरोधमा कलम चलाउनुपर्ने ब्याक्तित्वहरु बाटनै यस्तो प्रतिक्रिया आएपछि के भन्ने भन्ने गहिरो चिन्तन बोकेको छ यो कथाले ।
पुस्तकमा समाबेश सबै कथाहरुले केही न केही संदेश बोकेका छन् । “अंगुरको रस“ का प्वाइन बाजेको आफ्नै बेथा छ भने “छायाँको भूत“ पनि राम्रो बालकथा भन्न सुहाउँदो छ ! आइका सबै कथाहरु संदेश मुलुक त छन् नै त्यसमा पनि लेखकको कथा पस्किने शैली पनि प्रसंशनिय लागेकोले कथाकार पदम बिश्वकर्माज्युलाई हार्दिक बधाई नदिएर रहन सकिन ।
