३ बैशाख, बाँके । बाँकेमा एक सय २७ जना कोरोना संक्रमित थपिएका छन्।
भेरी अस्पताल, नेपालगञ्जले पछिल्लो चौबिस घण्टामा जाँच गरेको एक सय ८३ जनामध्येमा एक सय २७ जनालाई कोरोना पुष्टि भएको हो।
अस्पतालका अनुसार, एकै दिन यतिधेरै कोरोना पुष्टि भएको पहिलो घटना हो।
परीक्षण गरेकोमध्ये ६९.४ प्रतिशतलाई कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ ।
भेरीले वैशाख १ गते एक सय २३ जनालाई जाँच गर्दा ७५ जना पोजिटिभ देखिएका थिए। यो त्यो दिनको परीक्षणको ६१ प्रतिशत थियो।
यता, मेडिकल कलेजले हिजो ७५ जनाको जाँच गरेकोमा सबैलाई पोजिटिभ भएको छ। दैनिक नै विरामी संख्या धेरै देखिएपछि भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ।
साधारण विरामीलाई डिस्चार्ज गरेर बेडहरु खाली गराइएका छन्। मेडिकल कलेजमा पनि कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । सबै पालिकाहरुमा आइसोलेसन सेन्टर तत्काल बनाउन पर्ने जरुरी भएको छ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले दैनिक नै ठूलो संख्यामा विरामी थप भइरहेकाले अस्पतालमा राख्ने ठाउँ अभाव भइसकेको बताउनुभयो ।
