तुलना : लघुकथा
सेठ राम किशोर बेलुकाको खाना खाइवरी अफिस कोठामा पसे । हिसाब बाँकी थियो । एक छिनपछि उनले देखे कि उनको घरमा घरेलु काम गर्न बसेको जिताराम माझी भान्साकै बाहिरपट्टि बरण्डामा सुतिसकेको छ, निदाइसकेको छ ।
रात निकै छिप्पिसकेको थियो । सेठ सुत्न कोठामा छिरे । सेठानी कपडामा अस्तव्यस्त भएर निदाएकी थिइन् । श्रीमतीलाई चलाउने हिम्मत र जाँगर भएन उनलाई । उनको दिमागमा नमिलेको हिसाब कुदिरहेको थियो । कर, भन्सार, सरकार, मन्त्री, डन आदि नाचिरहका थिए । उनी रातभर त्यो गद्दामा पनि सुत्न सकेनन् । जितारामले घुरेको सुनिँदै थियो । सेठलाई उसको निदप्रति आहारिस लाग्यो ।
कोठाबाट बाहिर निस्के र जितारामलाई जितारामलाई बोलाए – रे जिता, यता आइज ।
‘जी, मालिक ।’ ऊ आँखा मिच्दै कुदेर पुग्यो ।
सेठले एउटा प्रश्न गरे – रे जिता, भन् त, तँ र म को ठूलो ?
सेठको बेतुकको प्रश्नले जितारामले ट्वाल्ल परेर हेरिरह्यो । बोलेन ।
फेरि सेठले प्रश्न दोहोर्याए ।
अनि जितारामले मुख खोल्यो – मालिक, हजुर कहिल्यै नसुक्ने समुद्र हो, म सुकेको खिरखिरे खहरे हुँ । हजुरको र मेरो के तुलना हुनसक्छ र ? जिताराम ट्वाल्ल परेर सेठलाई हेरिरहेको थियो । सेठले जितारामलाई भने – ठिक भनिस् जिता तैँले । तेरो र मेरो के तुलना हुनु र ? तँ बग्ने नदीजस्तै सफा छस् । म जम्दाजम्दा गन्धे पोखरी जस्तै फोहोरी नुनिलो भएको छु ।
खेमराज पोखरेल
सान एन्टोनियो, अमेरिका
