१६ बैशाख, रुपन्देही । बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा आधा घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आज बिहान बुटवलका दुई जना पुरुष र रुपन्देहीको मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३१ र ६६ वर्षीय पुरुष र ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो ।
वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुष सोहि दिन अस्पतालमा भर्ना भएका थिए।
त्यस्तै ६६ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन नै वैशाख ९ गते अस्पताल भर्ना भएका थिए भने ७२ वर्षीय महिला वैशाख १० गते संक्रमण पुष्टि भएकोमा ११ गते अस्पताल भर्ना भएकी थिइन्।
योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देहीमा पछिल्लो समय संक्रमित थपिने क्रम तीव्र रुपमा बढिरहेको छ।
