२७ बैशाख, काठमाडौं । मोरङका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको तीन घण्टाको अन्तरालमा मृत्यु भएको छ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई, र एक जनाकाे न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रदेश १ का ५ र प्रदेश २ बाट १ जनाको कोरोना संक्रमणले मृत्यु भएकोमा तीन महिला र तीन पुरुष रहेका छन्।
विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर–११ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सोमबार बिहान करिब ७ बजेर ५५ मिनेटमा मृत्यु भएको छ।
अस्पतालका कोभिड इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि संक्रमित पुरुषलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो।
त्यसैगरि, विराटनगर महानगरपालिका १३ की ७८ वर्षीया वृद्धा महिलाको पनि सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। इन्चार्ज देवका अनुसार वृद्धा महिलाको उपचारका क्रममा बिहान सवा ५ बजे नै मृत्यु भएको हो।
कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएर स्वास्थ्यमा समस्या देखिएपछि वृद्धालाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो। यसैक्रममा सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ।
इन्चार्ज देवका अनुसार बिहान करिब साढे ५ बजे उनको मृत्यु भएको हो। कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो।
त्यसैगरि, विराटनगरको न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया महिलाको बिहान करिब ५ बजेर ५० मिनेटमा मृत्यु भएको छ। अस्पतालका अनुसार महिलाको पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गराउने क्रममा महिला श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।
कोरोना संक्रमणकै कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार विहान करिब ५ बजे ३५ वर्षीया महिलाको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी वराहक्षेत्र नगरपालिका ११ की महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको हो।
प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएकी महिलालाई वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको थियो। यसैगरि, नोबेलमै सिरहाको भवानीपुर– ४ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।
प्रबन्धक दाहालका अनुसार उपचारका क्रममा बिहान करिब सवा ५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो। दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो ।
