वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने जानकारी दिए।
आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताए ।
यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने उनले बताइए।
मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताए ।
सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको छ।
सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको छ ।
प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार पारिएको उनले जानकारी दिए।
नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
मकवानपुरमा सघन उपचारकक्षसहित ३५ श्यैया आइसोलेसन तयार भइसकेको र ७० श्यैया तयार हुँदै गरेको, सिन्धुलीमा पाँच श्यैया तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० श्यैया तयार भएको, दोलखामा १७ श्यैया, सिन्धुपाल्चोकमा १७ श्यैया, भक्तपुरमा २१, काभ्रेमा २० श्यैया तयार भएको छ ।
प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय र्यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
