२ पुस, काठमाडौं । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ ।
बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।
भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।
