१० माघ, रसुवा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि आफ्ना सेवा स्थगित गरेको छ ।
कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले माउण्टेन खवरसंग बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।
नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलनका कार्य बन्द गरिएको कार्यालयले जनाएको छ ।
रसुवामा अहिले ९९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । अहिलेसम्म जिल्लामा १ हजार ४ सय ३६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ३५ जना निको भएका छन् भने दुई जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क छ ।
