आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाईरसको आर्थिक असर र नेपालको भविष्य


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 1.1K
    SHARES

 

चीनमा उत्पन्न भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले पार्ने राजनैतिक ,सामाजिक आर्थिक प्रभाव देखि मानव मात्रको जीवन यात्रामा पार्ने प्रभावका वारेमा अनेकन आंकलन र अनुसन्धान गर्ने क्रम जारी रहेको छ । विश्वले अहिले अकल्पनीय संकटको सामना गर्नु परेको छ, यो परिस्थितिले हजारौ मानिसलाई रोजगारी दिने कम्पनी देखि साना व्यवसाय हुँदै कल कारखाना तथा उत्पादन देखि वितरण हुँदै उपभोक्ता सम्म पुरयाउने आउटलेटलाई समेत गहिरो असर पारेको छ । विश्वको अर्थव्यवस्था विगत १०० दिन देखि गम्भिर मारमा फसेको छ । यसले आगामी दिनमा कसरी समस्या समाधानको लय लिन्छ र विश्वभर निर्धक्क उपभोक्ता देखि उत्पादन कर्ता सम्मले आफनो जीवनको दैनिकीमा फर्किन्छन भन्ने प्रतीक्षाको विषय हो ।

विश्व परिवेश आफनो ठाउँमा छ, तर नेपालले यो कोरोना भाईरसका कारणले कस्तो क्षति व्यहोर्ने अवस्था छ र सरकारले कस्तो रणनीति लिन्छ भन्ने विषयमा केही टिप्पणी गर्न चाहेको छु ।

सर्वप्रथम विश्व परिवेशलाई नियालौं, विश्वमा अर्थतन्त्रलाई महत्वपूर्ण तरिकाले केलाएर हेर्ने दुई निकाय भनेको एउटा अन्र्तराष्ट्रिय मुद्रा कोष हो भने अर्को विश्व वैंक । यी दुई निकायमा कार्यरत अर्थशास्त्री,विश्लेषक देखि अनुसन्धान कर्ताहरुले समेत के भनेका छन भने विश्वको अर्थतन्त्रमा अकल्पनीय आर्थिक संकट आउने छ । हुन पनि आजको मिति सम्म विश्वको सवैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिकाले गहिरो आर्थिक क्षति व्यहोर्नु परेको देखिएको छ । उसले करिव ६० खर्व डलर वरावरको क्षति व्यहोर्नुपर्ने आँकलन गरिएको छ, तर कोभिड १९ भन्दा अगाडि हेर्ने हो भने अमेरिकाको अर्थतन्त्रले महत्वपूर्ण उपलब्धि हासिल गर्दे आएको थियो पनि । उसको अर्थतन्त्र मजवुत भन्ने कुरा त यो कोभिडको लागि भनेर अमेरिकी सरकारले २२ खर्व डलरको राहत प्याकेज वजारमा पठाउनुवाट पनि देखिएको छ । सन् २०१९ मा विश्वव्यापी रुपमा आर्थिक रुपमा आमने सामने रहेका चीन र अमेरिका कोभिड पश्चात त्यही लयमा आउला भन्नेमा धेरैको शंका रहेको छ । वार्षिक रुपमा अमेरिकाले चीनसँग ४०० अर्व डलरको व्यापार घाटा व्यहोरेको थियो । तर अव अमेरिका र चीनको वीचमा त्यही प्रकारको व्यापारिक साझेदारी नरहने निश्चित जस्तै देखिएको छ, किनकि चीनले कोरोना भाईरसको विषयमा सही समयमा सही सूचना नदिएको आरोप अमेरिकाले लगाएको छ । यो पछि आफना कम्पनीहरु विस्तारै अमेरिका ल्याउनका लागि अमेरिकालाई गतिलो विषय वन्ने देखिन्छ । साथै विश्व वजारमा एक छत्र आफनो वस्तु तथा उत्पादनको विस्तार गर्न सफल भएको चीनलाई त्यही अनुसारको व्यापार गर्न नसकिने भनेर यूरोपियन यूनियनका सदस्य राष्ट्रहरु , वेलायत ,अष्ट्रेलिया जस्ता देशले घोषणा नै गरिसकेको छन् ।

विश्व अर्थव्यवस्थामा सन् २०२० मा ऋणात्मक रुपमा ३ प्रतिशत सम्म जान सक्ने भनेर अन्र्तराष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । विश्व व्यापी रुपमा वस्तु तथा उत्पादनको उपयोग गर्ने तथा पर्यटनमा जानेमा अमेरिकी र यूरोपेली देशहरु नै अग्रणाी रहेका छन् । तर उनीहरुलाई आर्थिक संकटको सामना गर्न आन्तरिक रुपमा रोजगारी देखि उत्पादन तथा सेवा समेतको लागि चर्को दवाव पर्ने छ । त्यसैले नेपाल जस्ता देशहरुले झन कठिन परिस्थितिको सामना गर्न पर्ने र आगामी दुई वर्ष सम्म अर्थतन्त्र संकुचनमा जाने संभावना देखिन्छ ।

केही दिन अगाडि अमेरिकाको एमआईटि कलेजका प्राध्यापक एवं नोवेल पुरस्कारका विजेता अभिजित वेनर्जीले कोरोनाको संकट पश्चात विश्वमा गरिवी झन वढ्ने धारणा सार्वजनिक गरेका थिए । नेपालको हकमा त्यो झन डरलाग्दो हुने स्थिति आँकलन गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा कोभिड १९ ले पार्ने गम्भिर असर पाँच प्रकारको हुन सक्छ भन्ने पंक्तिकारको विश्वास रहेको छ । पहिलो ,रेमिटेन्सको आप्रवाह, दोश्रो पर्यटन क्षेत्र ,तेश्रो वैदेशिक रोजगारीको संकुचन, चौथो देश भित्र आर्थिक गतिविधिमा सुस्तता र पाँचौ सरकारको राजस्वमा संकुचन । आन्तरिक उत्पादनको हिस्सा कमजोर भएको र आयातमुखी अर्थतन्त्रमा विगत डेढ दशक देखि गम्भिर तरिकाले थिच्दै आएको नेपालको अर्थतन्त्रमा रेमिटेन्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गत आर्थिक वर्षमा ८ खर्व ७९ अर्व रेमिटेन्स भित्रिएको नेपालमा यो वर्ष त्यसमा २५ प्रतिशतले संकुचन आउन सक्ने देखिन्छ । वैदेशिक रोजगारिमा गएका नेपालीहरु फर्किएर आउने अवस्था आएको खण्डमा यसले केवल रेमिटेन्सको आप्रवाह मात्र कमी गर्ने होईन,यसले वित्तीय क्षेत्रमा तरलताको सामना गर्नु पर्ने हुन्छ भने देशको विदेशी मुद्रा सञ्चितिमा समेत गम्भिर धक्का दिनेछ ।

रेमिटेन्सको आप्रवाहमा कमी भएपछि देश भित्र वस्तु तथा सेवाको खरीदमा समेत संकुचन आई अर्थतन्त्र शिथिल मोडमा उभिन सक्ने खतरा हाम्रो सामु रहेको छ ।

नेपालको आर्थिक क्षेत्रमा अर्को महत्वपूर्ण आधारशिला पर्यटन उद्योग हो , तर पर्यटनको सिजनमा हुने आम्दानी गुमिसकेको छ भने अर्को सिजन शुरु हुने वेला सम्म मानिसहरुको आवागमनमा गम्भिर अवरोध आउने देखिन्छ । साथै यदि कोरोना भाईरस नियन्त्रणमा आएको खण्डमा पनि विश्व स्वास्थ्य संगठन जस्ता निकायले जारी गर्ने सजगताका मापदण्डहरुमा नेपालले कति द्रुत गतिमा पूर्वाधार विकास गर्न सक्छ भन्ने अर्को गम्भिर प्रश्न पनि आउँछ ।

यी सवै क्षेत्रको असर राजस्व संकलनमा पर्ने देखिन्छ । देश भित्रको आम्दानीले देशको चालु खर्च समेत धान्न मुश्किल परेको अवस्थामा अर्थतन्त्रमा आउने संकुचनले पार्ने चक्रीय असरले सरकारलाई आफना चालु कार्यक्रमहरुलाई निरन्तरता दिन समेत हम्मे हम्मे पर्न सक्छ । विगतमा नेपालमा आएको महाभुकम्पको वेलामा वैदेशिक सहायता तथा ऋण नेपालले योजना गरे अनुसार पाउने परिस्थिति थियो, तर अहिले यो सुविधा नेपालको सामु नरहन सक्छ किनकि धनी र विकसित अर्थतन्त्र भएका देश आफै संकटमा फसेको वेला उनीहरुको प्राथमिकतामा नेपाल जस्ता देश नपर्ने अवश्यम्भावी छ ।

अनेकन जटिल परिस्थितिका वावजुद नेपालले यो महामारीलाई एक अवसरको रुपमा उपयोग गर्न सक्नु पर्छ । यसको लागि निजी क्षेत्रसँगको साझेदारीमा सरकारले लचिलो नीति अवलम्वन गर्नुको विकल्प रहँदैन ।  एक कृषि प्रधान देश भएको कारणले र कूल गाहस्र्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गर्न सकेको खण्डमा खाद्यान्न,तरकारी र केही हद सम्म मासुजन्य पदार्थमा नेपालले आयात गर्न नपर्ने अवस्था आउन सक्छ । यसको लागि सरकाले अहिले देखिनै योजना गरेर अव शुरु हुने मौसम भन्दा अगावै कृषकहरुलाई सहज रुपमा कृषिजन्य विऊ र मलखादको व्यवस्था गर्नु पर्ने देखिन्छ । बैदेशिक रोजगारीमा रहेका नेपालीहरु केही गरि विदेशवाट फर्किएर आएको खण्डमा उनीहरुलाई कृषि क्षेत्रमा जानका लागि आकर्षक प्याकेज ल्याउनु पर्ने हुन्छ ।

सरकारले वडा स्तरमा लगत संकलन गरेर कम्तिमा गरिव तथा असहायका लागि आगामी चाडवाडको सिजन लाई केन्द्रित गरेर नगदमा सहयोग गर्नु पर्ने परिस्थिति आउन सक्छ ।

अन्त्यमा सरकारले आगामी वर्षको लागि वजेट तर्जुमा गर्दा कोभिडको असरलाई समेत गर्न पर्ने अल्पकालीन र दीर्घकालिन उपायका वारेका संक्षेपमा चर्चा गर्न चाहन्छु । खासमा सरकाले यो वर्षको वजेट निर्माण गर्दा आगामी तीन वर्ष भित्र अर्थतन्त्रलाई पुरानै लयमा ल्याउनको लागि खास खास क्षेत्रमा तोकेर रणनीति वनाउनु पर्ने हुन्छ । पहिलो , कृषि क्षेत्रमा आत्मनिर्भर गर्न सकिने वस्तुको पहिचान गरी तुरुन्त परिचालन गर्ने र त्यो अनुसार उत्पादित वस्तुलाई कृषकको स्थानवाट वजार सम्म पुरयाउन पहुँच वृद्धि गर्ने ,दोश्रो फलफुल तथा मासुको उत्पादन र मागको विषयमा उपलब्ध तथ्यांक केलाएर आत्मनिर्भर हुन सक्ने आधारशीला निर्माण गर्ने , तेश्रो कोभिडको कारण मर्कामा परेका व्यवसायीहरुको गुनासो सुन्न र आवश्यक सहयोग गर्न राहत तथा अनुगमन केन्द्रको स्थापना गरि द्रुत गतिमा सेवा प्रदान गर्ने । कम्तिमा पनि अहिलेलाई असार मसान्त सम्म ऋण तिर्न पर्नेहरुको ऋणको भाखा र गणना विधी पौष सम्म पुरयाउने त्यो भएको खण्डमा व्यवसायी,ऋणीहरुको आत्मवल मजवुत हुन्छ । साथै अव सरकारले विर्सन नहुने पक्ष के हो भने जनताको स्वास्थ्य पहिलो भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रको वजेट विस्तार गरि एक स्थानीय निकायको लागि उपकरण तथा स्वास्थ्य सामाग्री खरिदको लागि कम्तिमा १० लाख अलग्गै वजेट निकासा दिएर यस्ता महामारीको लागि जुध्ने संयन्त्र तयार पार्ने प्रयासको थालनी गर्नु पर्छ । दीर्घकालको लागि विद्युतको उपयोग गर्दे ग्याँसको प्रतिस्थापन गर्न विजुलीवाट चल्ने चुलोहरु प्रयोगमा ल्याउने र आयात प्रतिस्थापन गर्नको लागि कम्तिमा छ महिनाको लागि सम्पूर्ण विलासिताका सामानहरुको आयातमा प्रतिवन्ध लगाउनु पर्छ ।

एक सय वर्ष पछि आएको यो महामारी प्रकोपवाट देशलाई गतिशिल अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि विवेक सम्मत योजना तर्जुमा गरि आवश्यकताको पहिचानको आधारमा वजेट निर्माणमा ध्यान दिन सकेको खण्डमा आगामी पाँच वर्ष भित्र नेपालले आफूलाई आर्थिक रुपमा मजवुत वनाउन सक्छ । तर हचुवाको भरमा नीति वनाएर वेलुन जस्तो आयतनमा वजेटको आकार वढेको खण्डमा देशको अर्थतन्त्र गम्भिर दुर्घटनामा पर्ने संभावना हुन्छ । यसलाई वेलैमा सचेतता पूर्वक काम गर्न सरकार र निजी क्षेत्रले हातेमालो गर्दे अगाडि वढनु पर्ने देखिन्छ ।।

प्रदीप चापागाँई

लेखक नेपाल आर्थिक पत्रकार समाजका पूर्व अघ्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }