रसुवा, २३ मंसिर,
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । कालिका गाउपालिका १ फैलिगाङ कि ६ वर्षीया सुमिना तामाङको बिभत्स हत्या भएको हो । आइतबार बिहान ९ बजे बालिका ग्राङ प्राथमिक बिद्यालय गएको र बिद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजतलासको क्रममा एकजना महिलाले लगेको हल्ला गाउँमा चलेपछि बालिकाको परिवारले नजिकैको अस्थायी प्रहरी चौकी ग्राङमा उजुरी गरेका थिए ।
उजुरीपछि तत्कालै अस्थायी प्रहरी चौकी ग्राङ र इलाका प्रहरी चौकी कालिकास्थानका प्रहरीले खोज तलास सुरु गरेका थिए । खोज तलासको क्रममा तामाङलाई नुवाकोटको किस्पाङ गाउँपालिका ५ कि १९ वर्षीया सपना तामाङले आइतबार विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बाटैबाट अपहरण गरेको खुलासा भएको छ ।
अज्ञात रहेकी बालिकाको जिल्ला प्रहरी कार्यालय रसुवालगायत अन्य प्रहरी कार्यालयबाट खोजतलास भएको थियो । खोजतलासको क्रममा मंगलबार कालिका गाउँपालिका १ पलेपस्थित नागुर्दुङ भिरको ढुङ्गाको ओढारमा सुक्न लागेको बिलाउनेको सेउलाले छोपिएको अवस्थामा बालिकाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक इन्द्र सुबेदीले बताए ।
बालिकाको झोला, चप्पल र शब नजिकै झाडीमा रहेको र शब भन्दा केहि तल निलो प्लाष्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको उनले बताए । ‘बालिकाले कानमा लगाएको सुनको एक जोर मुन्द्रा समेत कानमा थिएन्’ सुवेदीले भने ‘घाटीमा डोरीले कस्साएको डाम थियो, मुन्टो घुमाउदा घुम्थ्यो, स्कुलको डे«स झोलाभित्र थियो ।’
बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उदेश्यले प्रतिबादी तामाङले अपहरण गरि एकान्त ठाउँमा लगि घाटीमा डोरीले कसि निमर्ममता पूर्वक हत्या गरि लुकाई छिपाई राखेको पाइएको समेत खुलासा भएको छ ।
प्रतिबादीले बिगतमा पनि रसुवा जिल्लालाई आधार बनाई राम्चे लगायतका ठाउँमा अपराधको घटना गराएको खुल्न आएकोसमेत प्रहरीले जनाएको छ । यसअघि तीन पटकसम्म सुन चोरी सम्बन्धि मुद्धामा पक्राउ परेको र एक बर्ष बाल सुधार गृह भक्तपुरमा समेत प्रतिबादी सपनालाई राखिएको र अहिले पुनः घटना दोहोरिएको महिला सन्जाल रसुवाका अध्यक्ष सुनितामाया गुरुङले बताइन् । ‘यी महिला यसअघि तीनपटक चोरीको घटनामा पक्राउ परेकी थिइन, दुई पटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरि मिलापत्र गरि पठाइएको थियो, तेस्रो पटकको समयमा उनी १७ वर्षको थिइन र रसुवा जिल्ला अदालतले बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो, एक वर्ष सुधार गृहमा बसि निस्किएकी थिइन्, अहिले पुनः घटना गराएको पाइयो ।‘
बालिका हत्यामा संलग्न भएकी उनलाई मंगलबार जिल्लाको कालिका गाउँपालिका २ कालिकास्थानबाट प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि सदरमुकाम धुन्चेमा राखेको प्रहरी नायब उपरिक्षक सुबेदीले बताए ।
मृतक बालिकाको परिवार तथा स्थानीयले उनलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बालिकाको शब रसुवा अस्पताल धुन्चेमा पोष्टमाटमका लागि ल्याइएको छ । लैङ्िगक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहदा रसुवामा महिलाबाटै बालिकाको अपहरणपछि हत्या भएको हो ।
