आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ को फोक्सोमा दीर्घकालीन असर


  • वीवीसी
  • सोमवार, मंसिर २९, २०७७
  • 608
    SHARES

कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए।

यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो।

फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड-१९ का बिरामीहरूलाई धेरै फरक पार्छ।

जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ।

सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए।

तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थकान अनुभव भइरहेको बताएका थिए जबकि उनीहरू कसैलाई पनि सघन उपचारको वा भेन्टिलेसनको खाँचो परेको थिएन।

साधारण स्क्यान गर्दा उनीहरूको फोक्सोमा कुनै खराबी पनि भेटिएको थिएन।

तर नयाँ विधिबाट जाँच्दा फोक्सोको क्षति देखियो। त्यहाँ रगतमा सजिलै सास नमिसिएको देखिएको थियो।

यो नतिजापछि अब प्राध्यापक ग्लीसनले १०० जनामा परीक्षण गर्ने योजना बनाएका छन्।

अस्पताल भर्ना नभएका र गम्भीर लक्षण नदेखिएका विभिन्न उमेर समूहका बिरामीहरूको उनले परीक्षण गर्नेछन्।

दीर्घ कोभिडको कारण

उनको मुख्य उद्देश्य फोक्सोको क्षति जाँच्नु र त्यो स्थायी हो वा होइन भनेर हेर्नु रहेको छ।

उनले भने, “फोक्सोमा केही क्षति पुगेको होला भनेर त मैले ठानेको थिएँ। तर यो स्तरमा होला भनेर सोचेको थिइनँ।”

६० वर्षभन्दा माथिका उमेरका मानिसमा गम्भीर कोभिड-१९ र कोभिड-१९ बाट हुने मृत्युको सम्भावना बढेको पाइन्छ।

तर यदि यो परीक्षणले विभिन्न उमेर समूहका मानिस अनि अस्पताल जान नपरेका मानिसमा पनि फोक्सोमा क्षति पुगेको देखायो भने त्यसले धेरै कुरा बदलिदिन सक्छ।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

उनको विचारमा कैयौँ सङ्क्रमित मानिसहरूले लामो समयसम्म अस्वस्थता अनुभव गरिरहेको दीर्घ कोभिडको पछाडि जिनन स्क्यानले देखाएका फोक्सोमा पुगेको क्षति नै मुख्य कारण हुनसक्छ।

डा. शेली हेल्स अक्सफोर्डस्थित चिकित्सक हुन् जो यो परीक्षण गराउने काममा पनि जुटेकी छन्।

उनी ठान्छिन् कोभिड-१९ बाट बिरामीभएका मध्ये १० प्रतिशत जतिको फोक्सोमा यस्ता क्षति पुगेको हुनसक्छ जसले गर्दा लामो समयसम्म लक्षण देखिइरहन्छ।

“अहिले (ब्रिटेनमा) १२ लाखभन्दा धेरैमा सङ्क्रमण भइसकेको छ। त्यसको १० प्रतिशत भनेको निकै ठूलो सङ्ख्या हो,” उनले भनिन्।

“जब स्वास्थ्यकर्मीले बिरामीलाई के भइरहेको छ र कसरी ठीक पार्ने भनेर बताउन सक्दैनन्, त्यो निकै सकसपूर्ण हुन्छ।”

“अधिकांश बिरामीहरू खराब समाचार भएपनि रोगको यकिन निदान भएको हेर्न चाहन्छन्।”

डा. सामन्था वाकर आस्थमा यूके तथा ब्रिटिश लङ् फाउन्डेशनकी अनुसन्धान निर्देशक हुन्।

उनी भन्छिन्, “यो चाखलाग्दो परीक्षण हो। कोभिडले फोक्सोमा पुर्‍याउने क्षतिबारे थप र विस्तारपूर्ण ढङ्गले परीक्षण हुनैपर्छ।”

“यदि परीक्षणले फोक्सोमा क्षति पुग्ने देखाउँछन् भने त्यसले क्षतिको स्तर नाप्ने परीक्षण विधिको विकास हुनसक्छ र विशेष उपचारको पनि विकास हुनसक्छ।”वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)