२ माघ ,काठमाडौ। चिनियाँ विज्ञहरूको एउटा टोलीले सन् २०२० भन्दा २०२१ मा संसारमा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चेतावनी दिएको छ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) , चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने देखाएको छ। अहिले संसारभरि कोरोनाबाट २० लाख मानिसको मृत्यु भएको छ।
सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ।
‘महामारी कसरी अघि बढ्छ भन्ने अनुमान गर्न कठिन छ तर केही मोडलबाट निकालिने गणितीय आँकडाले व्यवहारिक सूचना दिन्छन्, ‘ सुले भने।
चीनले महामारीलाई निकै हदसम्म नियन्त्रणमा राखेको भए पनि धेरै देशहरू अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छन्। नयाँ खालको कोरोनाभाइरसले महामारीविरूद्धको लडाइँलाई झन् चुनौतीपूर्ण बनाएको छ।
अहिलेसम्म संसारभरि ९ करोड २० लाख मानिसमा संक्रमण देखिएको छ। सुको अनुसन्धान अनुसार मार्चको सुरूसम्म १७ करोड संक्रमित हुन सक्ने छन्।
सबैभन्दा खराब अवस्थामा अमेरिका ३ करोड मानिस संक्रमित हुन सक्छन् भने त्यसपछि भारतमा एक करोड ५५ लाख, ब्राजिलमा १ करोड ५० लाख र रूसमा ६० लाख मानिस संक्रमित हुन सक्छन्। सबैभन्दा धेरै संक्रमित भएका यी चार देशमा मृत्युदर के हुन्छ भन्नेबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छैन।
सबैकुरा सोचेजस्तै भयो, सरकारहरूले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गरे, आम नागरिकले भौतिक दूरी अपनाउँदै मास्क लगाए र ठूलो संख्यालाई कोरोनाको भ्याक्सिन लगाइयो भने पनि मार्च पहिलो सातासम्म थप तीन लाख मानिसको कोरोनाले मृत्यु हुने अनुसन्धानले देखाएको छ।
