९ माघ, काठमाडौं । नेपाललाई भारतबाट कोरोना खोप अनुदानस्वरुप उपलब्ध गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारलाई धन्यवाद दिनुभएको छ।
बिहिबार प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद ज्ञापन गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै त्यसको प्रतिक्रियास्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ।
ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको बताउनुभएको हो । भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने पनि उहाँले स्पष्ट पार्नुभएको छ।
