१४ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै भन्नुभयो, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’
प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताउनुभएको छ । उहाँले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुनुनहुने र सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उहाँको भनाई छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो । भारत सरकारसँग थप खोप उचित मुल्यमा किन्ने कुरा पनि भइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड–१९सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गर्नुभएको छ ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु भएको छ। पहिलो चरणमा कोरोना महामारीको बिचमा अग्रपंतिमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलगायतका लाई लगाइदै छ।
