काठमाडौँ, १९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विरामीको घर–घरमा पुगेर रगत, दिशा र पिसावको नमूना सङ्कलन सुरु गरेको छ ।
काठमाडौँको टोखामा रहेको उक्त अस्पतालले विरामीको सहजताका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म विरामीको घर–घरमै पुगेर नमूना सङ्कलन कार्य सुरु गरेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त विरामीको सहजताका लागि अस्पतालले विरामीको घर–घरमै पुगेर रगत, दिशा र पिसावको नमूना सङ्कलनको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
“रोगले थला परेका विरामीलाई घरमै पुगेर रगत, दिशा र पिसावको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्थालाई सुरु गरेको हो,”–उहाँले भन्नुभयो । कोभिड–१९ का कारण अस्पताल आउन नमान्ने विरामीलाई समेत उक्त कार्यले सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ । नमूना सङ्कलन गर्न लाग्ने खर्चभने विरामीले ई–सेवामार्फत अस्पतालको खातामा पठाउने व्यवस्था मिलाइएको छ ।
उक्त अस्पतालले गत महिनाबाट ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार समेत सुरु गरेको थियो । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि उक्त विधिबाट उपचार सुरु गरेको हो ।
अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपिन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि उक्त विधिलाई ग्राण्डीले सुरु गरेको बताउनुभयो ।
ग्राण्डीले विस २०७३ सालमा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आएको छ ।
ग्राण्डी अस्पतालले रगत अभावका कारण कोही विरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उदेश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
