२८ माघ, काठमाडौं । मंगलबार राति भएको स्पेनिस ला लिगाअन्तर्गतको खेलमा गेटाफेलाई पराजित गर्दै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । उक्त खेलमा रियलले गेटाफेलाई २–० गोलले पराजित गर्दै रियल खेल तालिकाको दोस्रो स्थानमा पुगेको हो। यो सँगै रियलले शीर्ष स्थानमा रहेको एथ्लेटिकोसँगको दुरी ५ अंकमा घटाएको छ ।
रियल चोट र सस्पेन्सनका कारण जम्मा ९ जना रोजाइका खेलाडीविहीन रहेको थियो । एडिन हजार्ड, सर्जियो रमोश, फेडेरिको भालमर्डे, टोनी क्रुस, अल्भारो ओर्डिओजोला खेल्न असमर्थ भएपछि जिनेदिन जिदान ३–४–३ फर्मेसन अपनाउन बाध्य बनेका थिए । यद्यपी खेल अवधिभर रियलले राम्रो पकड जमाएको थियो।
खेलको ६० औँ मिनेटमा करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने लगत्तै फेरलान्ड मेन्डीले अग्रता दोब्बर बनाउँदै रियलको जीत सुनिश्चित गरे । यो सिजन बेन्जेमाले रियलका लागि २७ खेलमा १६ गोल गरेका छन् ।
२२ खेलपछि रियलको ४६ अंक रहेको छ ।
