३० माघ, काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिनुभएको छ ।गत साता महिलामाथि अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजिनामा दिनुभएको हो ।
जापानका पूर्व प्रधानमन्त्री समेत रहनुभएको ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताउनुभएको हो।
मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उहाँले “महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्” भन्नुभएको थियो।
मोरीले आफूले बोलेका कुराप्रति क्षमा माग्नु भएको छ । तर उहाँको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ ।
