४ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा लगाउन कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुझाव दिएको छ ।
सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो ।
डा. गौतमको अनुसार विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको हो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।
कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक तथा खोप विज्ञसमेत रहनुभएको श्यामराज डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरि कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने समेत उहाँले बताउनुभयो । ‘खोप लिइसकेका व्यक्तिलाई संक्रमण भएर गम्भीर असर नगरेतापनि सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’उहाँले भन्नुभयो।
