साथी तिर्थ राज अधिकारी बारे
लमजुङको दुराडाँडा र कास्कीको कन्धनी डाँडा २००७ सालको राणाशासन विरोधी क्रान्तीको तैयारी अभियानसँगै नेपाली काँग्रेसको किल्लाकारूपमा परिचित गाउँ थिए ।त्यति बेलाको प.३ नं. इलाका भित्रका कास्की, लमजुङ र तनहुँको सदरमुकाम पोखरा भएका कारण काँग्रेस नेताहरूको महत्त्वपूर्ण गोप्य सल्लाह, भेटघाट, वैठक गर्ने केन्द्रपनि पोखरानै हुन्थ्यो ।
लमजुङ दुराडाँडाकै तीर्थ राज अधिकारी र मेरो परिचयको आधार पनि त्यही काँग्रेसी अग्रजहरूको सामिप्यताले गर्दा निर्माण भयो । विद्यार्थी अवस्थाको त्यो चिनजान घनिष्ट मित्रतामा बदलिएर राजनीतिमा समेत सहयोद्धा बन्न पुग्यौँ ।
२००७ सालमा राणा शासन ढल्यो । नेपाली जनता शोषण मुक्त भै स्वतन्त्र र सार्वभौम सत्ताका मालिक बने । २०१५ सालमा आएर आम निर्वाचन भै काँग्रेस पार्टीले संसदमा बहुमत प्राप्त गरी सरकार बनायो ।
पार्टीका संस्थापक नेता वी.पी कोइराला प्रधानमन्त्री भै सरकारले जनताको भलो र उन्नतिका लागि काम गर्न थाल्यो । संसदले जनताको इच्छा र आकांक्षा अनुरूप योजना र श्रोत साधनको परिचालनमा विकास निर्माणको पक्षमा शिक्षा स्वास्थ्य आदिको प्रवन्धमा सरकारलाई सहयोग र सल्लाह दिन थाल्यो ।
त्यसले राजामा इर्ष्या जाग्यो । संवैधानिक राजतन्त्रको मूल्य र मान्यता अनुरूप राष्ट्रिय एकताको प्रतीक भै अलंकारिक राष्ट्र प्रमुख होइन, प्रत्यक्ष शासनको रुचि बढ्यो र जनतालाई आफ्नो शासन आफै गर्ने बहुदलीय प्रतिस्पर्धाबाट छानिएका प्रतिनिधिले कानुनको आधारमा शासन गर्ने संसद प्रति उत्तरदायी सरकार बन्ने परिपाटी २०१७ साल पौष १ गते समाप्त गरे ।
संसदीय व्यवस्थालाई विघटन गरी पार्टीमा प्रतिबन्ध लगाए । सरकार, संसद भंग गरे । प्रधान मन्त्री, सभामुख, मन्त्री, सांसद, पार्टीका नेता – कार्यकर्तालाई बन्दी बनाए । निर्दलीय पञ्चायती व्यवस्थाको नाउँमा आफ्नो सकृय नेतृत्वमा निरंकुश शासन सुरु गरे ।
आफ्नो सिद्धान्त विचार स्वाभिमान र बहुदलीय व्यवस्था प्रतिको समर्पण भावलाई त्यागेर वा वेचेर राजाको नेतृत्व स्वीकार गरी पञ्चायत प्रवेश गर्नेहरू पनि देखिए । तर बहुदलिय प्रजातान्त्रिक व्यबस्थाका हिमायती, नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरू राजाको निरंकुश हुकुमी शासनका विरुद्ध लागेर यात प्रवासमा पुगेर क्रान्तिका लागि संगठित हुन थाले । राजाको सकृय नेतृत्व स्वीकार नगर्नेहरूलाई “अराष्ट्रिय तत्व” भन्न थालियो।
त्यसबेला त्यही अराष्ट्रिय तत्व नामक विभुषण पाउने नेपाली काँग्रेसका हजारौं नेताहरू देशका विभिन्न जेलमा कडा पहराको घेरामा पनि नेल हतकडीमा बाँधिएर कुटाई पिटाई सहेर पञ्च प्रशासनको राक्षसी व्यवहार र अपमान सहँदै जेलको नारकीय जीवन बाँच्न बाध्य भए ।
पोखरा जेलमा काँग्रेसका १८ जना नेता सहित बन्दी अवस्थामा रहनु भएका मेरा बुबा श्री नारायण दत्त रानाभाट निर्घात कुटाईमा पर्नु भयो । प.३ नं. का बडा हाकिम तेज बहादुर प्रसाई, एस.पी. चिन्ता बहादुर बस्नेतर प्रहरी इन्सपेक्टर षडानन्ड अधिकारी थिए ।
यिनै तिन जनाले जेल निरिक्षण गर्ने निहुँमा राजबन्दीहरूसँग वाद विवादमा उत्रेर अराष्ट्रिय तत्व र देश विरोधी जस्ता गाली दिंदा मेरा बुबाले कडा प्रतिवाद गर्नु भएछ । त्यही निहुँमा राजबन्दीहरू र ठुलो संख्याका महिला पुरुष कैदीहरूका बीचमा मेरो बुबालाई माथि खुट्टा तल टाउको पारी झुण्ड्याएर दुवै पैतालामा वेतका छडीले पिट्न लगाएछन् ।
पिटाईले गर्दा खुट्टा सुन्निएर हात्तीको जस्ता भए । वेहोस अवस्थाका मेरा बुबालाई अन्य साथीहरूले स्याहार गरेर बचाउनु भयो । बुबालाई बचाउने ती अग्रजहरू प्रति सदा ऋणी हुनेछु । २०४८ सालमा तेज बहादुर प्रसाईले प.म. गीरीजा प्रसाद कोइराला, गणेशमानजी, पार्टी सभापती किसुनजी र अन्य धेरै नेता साथीहरूका बीचमा मलाई बताए अनुसार मेरा बुबालाई बचाउने उद्देश्यले त्यस्तो गर्नु परेको रहेछ ।
जेलसार गर्न सर्वप्रथम लालध्वज गुरुङ र इन्द्रसिंह गुरुङलाई सैनिकको जिम्मा लगाएपछि उनीहरूको हत्या गरिएको रहेछ । जेल सार गर्ने र सैनिकलाई सुम्पने रहस्य बडा हाकिमले बल्ल बुझेछन् । त्यस पछीको पालो नारायण दत्त रानाभाटको भएकाले उनलाई हिड्न नसक्ने बनाए पछि जेल सार्ने नाउँमा सैनिकलाई सुम्पन नपर्ने भयो । स्मरण रहोस् त्यती बेला यातायातका साधन थिएनन् । कि घोडामा कि पैदल हिड्नु पर्थ्यो । हिड्नै नसक्ने बनाएर राखेपछि बच्ने उपाए भयो ।
उहाँहरूले सल्लाहबाट त्यो कृपा गर्नु भएको कुरा खुल्यो । प्रवास भारतमा रहेका आफ्ना अभिभावक काँग्रेस नेताहरू भेट्न जानेहरूले लुकाइ छिपाई ल्याएका पर्चा हामीहरू मिलेर रातीको समयमा पोखरा बजारका मुख्य मुख्य ठाउँमा, घर पसलका पिंडीहरू, चौतारा, स्कूलका वरपर छर्थ्यौं ।
२०२५ सालमा वी.पी., गणेशमानजिहरू जेल मुक्त हुनु भएको खुसीयालीमा मार्ग ८ गते खुला रूपमा हामीहरूले अर्घौंको डाँडानाक भन्ने ठाउँमा प्रहरी चौकीकै अगाडी जलपान समारोहको आयोजना गर्यौं । नेपाली काँग्रेस कास्कीका सबै नेतागण र तनहुँ र लमजुङका प्रतिनिधि साथीहरू सहभागी थिए ।
त्यस समारोहमा तनहुँका धनेश्वर शर्मा र नीलकण्ठ शर्मा, लमजुङका श्रीकान्त अधिकारी र तीर्थ राज अधिकारी तथा कास्कीका म सहित ओमकार राज शर्मा, रवि मोहन शर्मा, प्रेम बहादुर कुँवर, चुडामणी लामिछानेले मन्तव्य व्यक्त गर्यौ । सम्पूर्ण राजबन्दी छाड्नु पर्ने, बहुदलीय व्यवस्था पूनर्स्थापना गर्नु पर्ने, आम माफी दिनु पर्ने, हरण भएको सर्वस्व फिर्ता गर्नु पर्ने जस्ता मागहरू राख्यौं । पछि तीर्थजी राजनीतिमा सकृय हुन सक्नु भएन ।
सरकारी जागिरमा लाग्नु भयो । राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएका तीर्थजीले साहित्य तर्फ धेरै कविता, मुक्तक, अन्य रचनाहरू लेखेर धेरै पुस्तकहरू प्रकाशित गर्नुभएको छ । संसारका धेरै मुलुकको भ्रमण गरेर त्यहाँको सभ्यता, संस्कृति, सुशासनको गहिरो ज्ञान आर्जन गर्नु भएको छ । राजनीति, समाज सेवा, साहित्य साधना गरे बापत सम्मान र पुरस्कार धेरै प्राप्त गर्नु भएको छ ।
सरकारी कर्मचारी भएर काम गरे बापत वहाँले धेरै तक्मा, सम्मानपत्र, कदरपत्र पाउनु भएको छ । यसरी एउटा सकृय, सचेत, सफल र सार्थक जीवन बिताइरहनु भएका मेरा अनन्य मित्र तीर्थजीको सु-स्वास्थ्य, दीर्घायु र सुखद पारिवारिक जीवन यापनका लागि शुभकामना दिन चाहन्छु । जय नेपाल ।
– तारानाथ रानाभाट
पूर्व महामन्त्री, नेपालीकाँग्रेस
पूर्व सभामुख, प्रतिनिधि सभा ।