७ चैत्र, काठमाडौं। पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ ।
शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ, जसमध्ये एक लाख ५९ हजार ३७० को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १५४ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन् । सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।
पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुनः संक्रमण बढ्न थालेको हो ।
किन बढिरहेको छ त संक्रमण ?
विशेषज्ञहरुका अनुसार कोरोना संक्रमण नियन्त्रणको लागि भारत सरकारले आवश्यक मापदण्डको पालना नगरेको कारण संक्रमण बढिरहेको आरोप लगाएका छन् । साथै मानिसहरुले पनि मास्क लगाउने र भौतिक दुरी कायम राख्नेजस्ता मापदण्ड मान्न छाडेकाले संक्रमण बढेको उनीहरुको भनाइ छ ।
भारतको पब्लिक हेल्थ फाउण्डेसनका अध्यक्ष के श्रीनाथ रेड्डीले दुवै पक्षले राम्रोसँग कोरोना नियन्त्रणको मापदण्ड पालना नगरेकाले अहिलेको अवस्था आएको उल्लेख गरे ।
उनका अनुसार विशेषगरी जनवरीको सुरुआतपछि भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएसँगै मानिसहरुले मापदण्डको पालनामा बेवास्ता गर्न थाले । यसले कोरोना संक्रमण बढ्ने मौका पाएको श्रीनाथले बताए । ‘त्यस्तै धेरै राजनीतिक, सामाजिक र धार्मिक गतिविधिहरु र धेरै राज्यको स्थानीय निर्वाचन र अन्य केही राज्यमा भएको संसदीय निर्वाचनको तयारीजस्ता कार्यक्रमहरु भए । यी सबै घटनाहरुले कोरोना संक्रमणलाई तीव्र गतिमा बढ्न सहयोग ग¥यो’, उनले थपे ।
रेड्डीले भारतमा कोरोनाविरुद्धको हर्ड इम्युनिटी कहिले पनि विकास नहुने जिकिर गरे । उनले मानिसहरुले आवश्यक मापदण्डहरु पालना गर्ने र सरकारी निकायले पनि आवश्यक कदम चालेको अवस्थामा मात्र कोरोना नियन्त्रण गर्न सकिने बताए । ‘हामीले सबै क्षेत्रहरु निकै छिटो खुला ग¥यौं । अहिले मानिसहरु पार्टी, मलामी, नाचगानलगायतका भेलामा सहभागी भइरहेका छन् । यदि हामी आवश्यक मापदण्ड पालना गर्दैनौं भने अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ’, इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का ललितकान्त बताउँछन् । सरकारी पक्षको पनि केही कमजोरी रहेको उनको बुझाइ छ ।
