काठमाडौं,१० चैत्र।
बंगलादेशले त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गर्दै त्रिदेशीय नेसन्सकपमा सुखद सुरुआत गरेको हो । किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो ।
३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले किक्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । र बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । बंगलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई किलियर गर्ने क्रमा उलु बैमानको बलले जाली चुमेको थियो ।
पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास ग¥यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । अनमार्क रहेका उनीले हावाबाट आएको बललाई सही दिसा दिन सकेनन् ।
त्यसपछि थप गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो । यससँगै बंगलादेशले किर्गिस्तानको उमेर समूहमाथि पहिलो पटक जित निकाल्न सफल पनि भएको छ । तर यस अघि भएका चार भेटमा किर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।
सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नछ । पराजित किर्गिस्तानले बिहिबार नेपालसँग खेल्नेछ ।
