काठमाडौँ, ५ बैशाख । अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रबद्र्धन गर्नका लागि भएको युवा सेफ प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको छ ।
सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आईतबार यहाँ आयोजना गरेको प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको हो ।
प्रथम भएसँगै एकेडेमी अफ कलिनरी आर्ट कलेजले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै, दोस्रो गेट कलेज र तेस्रो रिट्ज कलेज भएको छ । दोस्रो हुने गेट कलेजले रु ५० हजार र तेस्रो हुने रिट्ज कलेजले रु २५ हजार प्राप्त गरेको ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा भएको प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ श्याम लामा, सूर्यकिरण श्रेष्ठ र लक्ष्मणप्रसाद भण्डारी रहनुभएको थियो ।
युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्याम लामाले नेपाली खानालाई विश्वमाझ चिनाउनुभन्दा पहिले आफ्नो देशमा नेपाली खानालाई चिनाउनुपर्ने बताउनुभयो । उहाँले आन्तरिक उडानमा नेपाली परम्परागत खानालाई पस्किन सकेमात्र अन्तर्राष्ट्रिय उडानमा नेपाली खानालाई प्रबद्र्धन गर्न सजिलो हुने बताउनुभयो ।
