शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीलाई ‘सिंहदरबार’ बनाउँदै प्रदेश सरकार


  • माउन्टेन खबर
  • शुक्रबार, असार ३, २०७९
  • 464
    SHARES

३ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा रु १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताउनुभयो ।

“हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो । तर सङ्गठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माणकार्यलाई अघि बढाउँछौँ ।”

‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताउनुभयो । यसका लागि आगामी आवको पहिलो महिनामै काम थालनी गरिने उहाँको भनाइ थियो ।

आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन रु दुई करोड, पर्खाल निर्माणमा रु पाँच करोड र मन्त्रालय निर्माणका लागि रु आठ करोड छुट्याइएको जानकारी दिनुभयो । “आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ”, सचिव आचार्यले भन्नुभयो, “उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ ।”

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)