बुधबार, बैशाख २६, २०८१

संवेदना सकिएका हामी (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शुक्रबार, साउन १३, २०७९
  • 461
    SHARES

संवेदना सकिएका हामी

हामी शान्तिप्रिय नेपालीहरू आनै रगतको आहालमा डुब्ने अभ्यासमा देखिएको छौं । बुद्ध र सगरमाथाको शान्ति देशमा युद्धको बिगुल बजिरहेको छ । नेपालीहरू संवेदनाहीन, मूर्तिवत् र प्रतिक्रियाहीन उभिएको छौं । रगतका आला टाटा भयभीत मन र सशङ्कित वर्तमानबीच हामीहरू निरुद्देश्य उभिएको छौं । सिर्जना गर्नुपर्ने हातले ध्वंसका हतिहार समाइरहेका छन् ।

हार्दिकता हृदय धड्कनशून्य ढुङ्गो बनेको छ । मानौं मर्नु र मार्नु हामीहरूको दिनचर्या अनि पुरुषार्थ हो ! आनै मृत्यु हाम्रो पौरख हो ! तर कसले बुझ्ने यो नियति, यो पुरुषार्थ र यो बहादुरी सब बित्था र हाम्रै विनाश हो भनेर । हाम्रो मन र मस्तिष्क विश्लेषित अनि आन्दोलित छैन । एउटा लहड र दन्त्यकथाको अद्भुत नाटक मञ्चन भइरहेको छ । एउटा वियोगान्त कोरस, जहाँ हेर्ने, खेल्ने, खेलाउने सबै हारको निष्कर्षमा छन् वियोगान्तको विरेचन गर्ने मन पनि रित्तिएको छ ।

कुँडिएको मनबीच एउटा मित्र अर्को साथीसँग हार्दिकता साट्न सकिरहेको छैन । आमाहरू काख रित्याएर गगल्चिएका छन् । पत्नीहरू पतिको दीर्घायुको व्रतसँगै सिन्दुर, पोते र चुरा सेलाइरहेका छन् । तिहार र सामाचखेवा दाजुभाइको मलामीमा तेर्सिएको छ । पर्व–उत्सवहरू विनाश प्रलयपछि भयशक्तिमा मौन खुम्चिएको छ । आशाभरोसा टुटेका छन् । बुढा बाबुका जीर्ण खोपिल्टा पनि रित्तिइसके ।

संवाद टुटेको मन, आँसु रित्तिएका आँखा र संवेदना सकिएको मुटुबीच अर्को बिहानी उदाउँछ– उही नियति, भग्नाशा र कुण्ठा अनि भयशान्तिबीच ! बिहानीका चखेवा पनि गाउन छाडेका छन् तर छेउमा गिद्धहरू रमाएर कराउँदै छन् । पाखापखेरामा तरुनी–तन्नेरीका दोहोरी र झ्याउरेको भाका सुनिन छाडेका छन् । त्यहाँ पनि भय र अट्टहास मडारिएको छ । बुद्ध, सीता र सगरमाथााको देश कुन्नि किन मुर्दा शान्तिमा मौन उभिएको छ ।

संवेदना सकिनुको अर्को नाम ढुङ्गो हुनु हो । संवेदना सकिएपछि मानिस ढुङ्गो बन्छ । सिर्जना सकिन्छ र बस्तीहरू उजाड देखिन्छन् । कविको कविता पनि फुर्दैन, मन धुने क्याथर्सिस पनि हुँदैन । कामु, सात्र्र र नित्सेले उसै अनीश्वरताको स्वर पोखेका थिएनन् । शान्ति, निर्माण र सभ्यताका पर्खाल साबुनका फिँजजसरी क्षणमै बिलाएका छन् । बस्ती उजाड बन्ने क्रमसँगै युवा सिर्जनाका बलिष्ठ हात आनै भूमिदेखि डराएर अरबको खाडीतिर लस्कर लागेका छन् ।

गाउँबस्तीहरू उजाड र खाली भइसके । सहारा चाहिने आमा, बुबा र कलिला शिशुमात्र बाँकी हुने क्रम जारी छ । आफैं विरुद्ध लक्षित हातहरू आनै संयम र विवेकले मात्र सिर्जनामा फर्किन सक्छन् । अरूका हात एक्काइसौं शताब्दीको पर्दापणसँगै अवसर र प्रतिस्पर्धामा जुर्मुराएका छन्, हाम्रा पौरखी हात, विवेकी मन र आपसी व्यवहार व्यर्थमा अपहृत छ ।

सम्भावना, अवसर र चुनौतीमा सांँघुरिएको नवशताब्दीलाई पौरखी हात तथा विवेकी मनले मात्र आना पक्षमा मुन्ट्याउन सक्छ । अरूहरू सानो कोठाबाट विश्व मानचित्र घुम्दै, रम्दै÷रमाउँदै अवसरको आस्वादनमा निर्लिप्त भएको वेला भय, अट्टहास र रक्तपातले बस्तीलाई विसर्जनतिर धकेल्ने यो क्रम कसैको पक्षमा छैन भनेर कसले कसलाई भन्ने ? कसले कसलाई बुझाउने ? बुझक्कडहरू नै अबुझ बनेपछि कसले कसलाई बुझाउने ? के मानिसहरू यति निष्ठुर बन्न सक्छन् ? के कुनै विचार, दर्शन र सिद्धान्त मानवताविरुद्ध हुन सक्छ ? के हाम्रा समाचारका पृष्ठ बन्दुक, लास, हत्या र अपहरणका खबरले भरिनु साहस र पौरखको शृङ्खला हो ? दसौं हजारको लास र रगतका फाल्सा बगाउन कत्रो मैदान चाहिएला ? मर्नेले कल्पना गर्न नसके पनि बाँच्नेको मनले यसलाई सोच्न सक्छ ।

यो सोचाइ र कल्पनाभित्र किन हामीहरू कठोर र शून्य देखियौं ? किन संवेदना रित्याएर मानिस बाँचेको अभिनय गरिरहेका छौं ? यस्ता अनन्त अनुत्तरित प्रश्नको उत्तर कसले दिने ? जसको जवाफ सबै नेपालीले खोजिरहेका छन् । नालापानीको लडाइँमा मात्र होइन– ग्यास च्याम्बरको कथा, ‘दश लाख हिरोशिमातिर′ मा पनि मजस्ता कतिले आँसु पुछेर कथा सुनेका होलान् । अहिले पनि कथा सम्झँदा मन सिरिङ्ग हुन्छ तर यो नियति अन्यत्रको होइन– हाम्रै हो कसरी सहने ?

नेपालीहरू दया र करुणाका खानी हुन् । नेपालीहरू परिश्रमी र इमानदार पुरुषार्थका सिर्जना हुन् । उसको स्वभाव नै अरूसँग हार्दिकता साट्ने क्षमता हो । अरूको दुखमा रुने र दुखमा सघाउने हो । अरूको रगत देख्दा मूच्र्छा पर्ने हामी आफ्नै मृत्यु, रगत र ध्वंसमा भावशून्य अनि संवेदनाहीन भएर ठिङ्ग उभिएका छौं । इतिहास र मानवता भुलेकोमा हामीमा लाज हराइसक्यो । हीनताबोध पनि छैन वर्तमान कुल्चेकोमा र पश्चात्ताप छैन सभ्यता सकिएकोमा । के अब जीवन, जागरण र विकासको प्रत्याशा सधैंका लागि सकिएको हो ? होइन भने हामीहरू हार्ने यात्राको अन्त्य कहिले गर्ने ?

अब काठमाडौंको घाउ डोल्पामा दुख्नुपर्छ । अब जुम्लीको पीडा विराटनगरले अनुभूत गर्नुपर्छ । दुुःख सहनुपर्छ तर कसैलाई दुखाउनुहुँदैन । आत्मरतिको आदर्श नेपालीको आचरण होइन । आत्मकेन्द्रित भावना र व्यवहारले मानिसलाई उसको श्रेणीबाट ओराल्ने क्रम रोकिनुपर्दछ । सबैमा चेतना फैलिनुप¥यो– सभ्यता र सिर्जनाका लागि जुर्मुराउन ढिला भइसक्यो । आफूहरू मासिनुको नतिजा कुरुक्षेत्रले देखाएन र ? सबै सिर्जना हाम्रा हुन्, सबै विध्वंस पनि हाम्रै हो ।

सक्ने सकिइने सबै हामी तर पनि निरुद्देश्य र संवेदनहीन रोबोटझैँ कङ्कालमा एकोहोरो आँखामा किन उभिने ? यो बीभत्स र भयशान्तिमा हामी किन दोहोरिइरने ? अब बास्ने बिहानीले सिर्जना छोड्नुपर्छ, अब ब्युँझने शिशुहरूले मुस्कान छर्नुपर्छ । पाँचै करोड हात सिर्जनामा तल्लीन हुनुपर्छ । एकएक थोपा पसिनाले धर्ती सिञ्चिनुपर्छ । आज रात नेपालीले यही सपना देखोस् र भोलि बिहान उसले यही सङ्कल्प गरोस् । सृष्टिपछिको वेदना मानिसले सहोस् तर विनाशपछिको वेदना उसले तिरस्कार गरोस् ।

– गोपी मैनली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }